अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देशलाई जगाउने र जोगाउने एउटा नारा

देशलाई जगाउने र जोगाउने एउटा नारा


नेकपा एमालेका केन्द्रीय सदस्य तथा राजनीतिक विश्लेषक गोविन्द थापाले देशलाई जगाउने र जोगाउने एउटा नारा भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्नुभएको छ। उहाँले  नेकपा एमालेले ‘जनताको बहुदलीय जनवाद’ त्यागेको हो ? अहिले यो प्रश्न उठाएर व्यापक हल्लाखल्ला  गरेको बताउनु भएको छ।  ‘यस्तो हल्लाखल्ला बीचमा एमालेले राष्ट्रको जीवनमा तरंग ल्याउने गरी एउटा नारा दिएको छ। त्यो नारा हो- ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य।’ भन्दै भिडियोमा बोल्नुभएको छ।

नेता तथा राजनीतिक विश्लेषक थापाले भिडियोमा बोल्नुभएको कुरा यस्तो छ, ‘नेकपा एमालेले जनताको बहुदलीय जनवाद त्यागेको हो ? अहिले यो प्रश्न उठाएर व्यापक हल्लाखल्ला गरिँदैछ। यस्तो हल्लाखल्ला बीचमा एमालेले राष्ट्रको जीवनमा तरंग ल्याउने गरी एउटा नारा दिएको छ। त्यो नारा हो- ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य।’ यो नाराले देशलाई हल्लाएको छ, जगाएको छ। निराशालाई परास्त गर्दै देशलाई जगाउने, जोगाउने र देशलाई अघि बढाउने काम यो नाराले गर्छ। यो नारा अबको नेपालको मूल मन्त्र हो। 

एमालेको यो नारा विधान महाधिवेशनका लागि हो। यो नारा अति गहिरो र धेरै नै अर्थपूर्ण छ। यो नाराले देशको वर्तमान र भविष्य दुवै बोकेको छ। यो नारामा १२ शब्द छ। तर, यो १२ शब्द पछाडि ठूलो दर्शन र विचार छ। यो नारा पछाडि कस्तो दर्शन र विचार छ भन्ने नेकपा एमालेका कार्यकर्ताले पनि बुझेका छन्। सर्वसाधारण जनताले पनि धेरै हदसम्म बुझेका छन्। एमाले विरोधीहरुले त झनै बुझेका छन्। त्यसैले यो नाराले अहिले चर्चा र बहसको केन्द्रविन्दू बनेको छ।

अब म एमालेले ‘जबज’ त्यागेको हो ? भन्ने प्रश्नमा केही बताउँछु।

एमालेले जबज त्यागिदेओस् भनेर यहाँ धेरै मानिसहरु धेरै शक्तिहरु प्रार्थना गरेर बसिरहेका छन्। एमालेले जबज त्याग्ने कुरै आउँदैन। एमालेले जबज त्यागोस् भनेर प्रार्थना गर्नेहरुको अर्का पनि इच्छा छ, एमालेले जबजमा उभिएर यसको विकास र विस्तार नगरोस्। म फेरि भन्छु, एमालेले जबज त्यागोस् भनेर प्रार्थना गर्नेहरुको अर्का पनि इच्छा छ, एमालेले जबजमा उभिएर यसको विकास र विस्तार नगरोस्।

देश, समाज, विश्व सबैको परिस्थिति परिवेश फेरिइसक्यो। मानिसको चेतनाको स्तरमा व्यापक फेरबदल आइसक्यो। चिन्तन शैलीमा परिवर्तन आइसक्यो। विज्ञान प्रविधिको विकासले मानिसको आकांक्षा र चाहना फेरियो। माक्सवाद लेनिनवादमा उभिएर नयाँ नयाँ चिन्तन आइसक्यो। पूँजीवाद र समाजवादको अवधारणाले आफूलाई निरन्तर परिवर्तन गरिरहेको छ। नेपालको राष्टिय समस्या, आवश्यकता र परिवेश फेरिइसक्यो। यस्तो अवस्थामा एमालेले चाहिँ जबजको विकास र विस्तार गर्न हुँदैन, जबजलाई धर्मशास्त्र जसरी मानिरहन पर्छ भन्ने उनीहरुको मान्यता छ।

जबज जीवन्त विचार हो, त्यसैले यसमा परिमार्जन, परिष्कार भइरहन्छ र हुनु पनि पर्छ। जबजमा उभिएर नयाँनयाँ विचार र दर्शन आउनुपर्छ।

एमाले जबजलाई आत्मसात गर्दै यसैको आधारमा वैचारिक उचाई हासिल गर्न चाहन्छ। अबको युगमा विचार मात्र भएर हुँदैन, कार्यक्रम र विचार बीच तालमेल हुनुपर्छ। यही मान्यतामा उभिएर ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा आएको हो।

नाराले विचार र दर्शन बोकेको हुन्छ र हुनु पनि पर्छ। अब ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नाराले बोकेको विचार दर्शनको बारेमा म संक्षिप्तमा चर्चा गर्छु।

निर्णायक राष्ट्रिय शक्ति निर्माण देशको आवश्यकता हो। नेपालको अविकासको एउटा मुख्य कारण राजनीतिक अस्थिरता हो । राजनीतिक अस्थिरता भनेको क्यान्सर जस्तो हो, क्यान्सरले शरीरलाई भित्रभित्रै गलाए जस्तै राजनीतिक अस्थिरताले देशलाई गलाउँछ। निर्णायक राष्ट्रिय शक्ति निर्माणको आवश्यकता धेरै कारणले परेको देखिन्छ। नेपालको आवश्यकता विकास र समृद्धि हो, समृद्ध नेपाल, सुखी नेपाली हो। यो लक्ष तथा उद्देश्य प्राप्तिका लागि निर्णायक राष्ट्रिय शक्ति चाहिन्छ। निर्णायक राष्ट्रिय शक्ति नेपालको आवश्यकता हो, निर्णायक राष्ट्रिय शक्ति बिना नेपाल अगाडि बढ्न नसक्ने अवस्था छ।

निर्णायक राष्ट्रिय शक्ति कस्तो हुन्छ या हुनुपर्छ ? यो प्रश्नमा विचार गरौं। निर्णायक राष्ट्रिय शक्ति भनेको बहुमत ल्याएर सरकार बनाउन सक्ने, सरकार बनाएपछि समृद्ध नेपाल सुखी नेपालीको अवस्था सिर्जना गर्न सक्ने हुनुपर्छ। यस्तो सामाथ्र्य र वैचारिक आधार भएको पार्टी नेपालमा नेकपा एमाले मात्र हो। साधारण भाषामा भन्नु पर्दा केन्द्र र प्रदेशहरुमा बहुमत ल्याएर सरकार बनाउनु नै राष्टिय शक्तिको प्रस्थान विन्दु हो।

लोकतान्त्रिक संसदीय व्यवस्थामा बहुमत ल्याएर सरकार बनाउनु साधारण विषय लाग्छ होला। नेपालमा भने साधारण विषय होइन । हामीले संविधान बनाउँदा यस्ता गल्ती गरेका छौं कि कुनै पार्टीको बहुमत आउन गाह्रो छ। प्रत्यक्षमा ६० प्रतिशत निर्वाचित हुने र समानुपातिकबाट ४० प्रतिशत निर्वाचित हुने व्यवस्थाले बहुमत ल्याउन गाह्रो हुन्छ। कसैको बुहमत नआउने यस्तो व्यवस्थाका कारण निजी स्वार्थले प्रेरित सानासाना पार्टी खोल्ने, दुई/चार सिट ल्याउने पार्टीहरु हाबी हुने अवस्था आयो । यो अवस्थाको समाधान भनेको संविधान संशोधन गर्नु हो, संशोधनका लागि दुई तिहाई चाहिन्छ। साना पार्टीहरु आफ्नो हालीमुहाली गुम्न नदिनका लागि दुई तिहाई पुग्न दिँदैनन्। अर्का समाधान भनेको यही संवैधानिक व्यवस्था अनुसार जनतासँग बहुमत माग्ने हो। यही अवस्था र व्यवस्थाभित्र बसेर न्यूनतममा साधारण बहुमत हासिल गर्ने, अधिकतममा दुई तिहाई बहुमत हासिल गर्ने राष्टिय शक्ति चाहिएको छ। यसैका लागि राष्ट्रिय शक्ति भनिएको हो। राष्ट्रिय शक्तिको आवश्यकता विश्व राजनीति, विश्वव्यापी तनाव, नेपालको भूराजनीतिक अवस्थाले पनि सिर्जना गरेको हो।

जबजले प्रतिस्पर्धात्मक राजनीतिक व्यवस्थाको परिकल्पना गरेर नेपाललाई यो ठाउँमा ल्याइपुराएको छ। अबको आवश्यकता निर्णायक राष्ट्रिय शक्ति निर्माण बनेको छ। बहुदलीय जनवाद भनेर मात्र अब नपुग्ने भयो, निर्णायक राष्ट्रिय शक्तिको आवश्यकता पर्न गयो । यो आवश्यकता अनुसार एमालेले आफूलाई परिमार्जित र परिष्कृत गर्दा जबज त्यागेको ठहरिन्छ र ? त्यसैले एमालेले जबज त्याग्यो भन्नेहरु देखेर मलाई हास उठ्छ, उनीहरुको वौद्धिक स्तर देखेर कठै भन्न मन लाग्छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने अवधारणा नेपालका लागि महान अवधारणा हो, महान विचार हो। समृद्ध नेपाल सुखी नेपाली अवधारणा नेकपा एमालेको मात्र नभएर देशकै राष्ट्रिय लक्ष बनिसकेको छ। यस बारेमा धेरै छलफल बहस भइसकेको छ, आगामी दिनमा पनि हुनेछ। आगामी दिनमा यस विषयमा पनि म आफ्नो विचार यस्तै भिडियोमा राख्दै जानेछु।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ यो नाराले आजको नेपालको आवश्यकता र वास्तविकता बोकेको छ। यो नारा पछाडिको दर्शन र विचार के-के छ ? यसको प्रणेता र व्याख्याता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हुनुहुन्छ। केही वर्ष अघिदेखिका उहाँका लेख, भाषण, अन्तर्वार्ताहरुमा यो विचार र दर्शनको धेरै पक्ष उजागर भइसकेको छ । त्यसैले हामीले केपी ओलीलाई सुन्न पढ्न र बुझ्न आवश्यक छ।

अन्तिममा म के भन्छु भने, ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ नारा मेरो हो, तपाईंको हो, हाम्रो हो र सम्पूर्ण नेपाली जनताको हो।