काठमाडौं- नेकपा एमाले निकट पत्रकार संगठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशनका लागि सुझाव पार्टी महासचिव शङ्कर पोखरेललाई हस्तान्तरण गरेको छ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेकाे नेतृत्व टोलीले २०८२ भदौ १२ गते बिहीवार सुझाव हस्तान्तरण गरेको हाे। सुझाव हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटीका सदस्य एवं जनसंगठन समन्वयका प्रमुख भानुभक्त ढकाल, केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गणेश बस्नेत तथा प्रेस चौतारीका उपाध्यक्ष चेतन अधिकारी र महासचिव हिरामान लामालगायतको उपस्थिति रहेको थियो।

चौतारीले प्रस्तुत गरेका सुझावहरू पार्टी विधान संशोधन र राजनीतिक प्रतिवेदनमा समावेश गर्न माग गरिएको छ। मुख्यतः प्रेस स्वतन्त्रता, पार्टी नेतृत्वको कार्यकाल र उमेर सीमा, केन्द्रीय कमिटीको संरचना, सदस्यता व्यवस्था, सम्पर्क समन्वय कमिटी, संवैधानिक पदाधिकारीको राजनीतिक संलग्नता, युवा तथा महिलाको प्रतिनिधित्व, विभागीय मनोनयन, मिडिया कानुनलगायतका विषयलाई सुझावमा समेटिएको छ।
सुझावअनुसार, पार्टी विधानको प्रस्तावनामा नै ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ’ भन्ने वाक्यांश राख्नुपर्ने, अध्यक्षको दुई कार्यकाल र ७० वर्षे उमेर सीमा हटाउने निर्णयलाई समर्थन गर्ने, पदाधिकारी सङ्ख्या घटाएर ९ कायम गर्ने र केन्द्रीय कमिटी २ सय ५१ सदस्यमा सीमित गर्ने प्रस्ताव गरिएको छ।
त्यस्तै, पार्टी सदस्यता संरचनामा ‘साधारण सदस्य’ वा ‘प्रारम्भिक सदस्य’ को व्यवस्था गर्नुपर्ने, जनसंगठनमा संगठित भएको एक वर्षभित्र पार्टी सदस्यता अनिवार्य गर्नुपर्ने, सम्पर्क समन्वय कमिटी जनसंगठनले पनि गठन गर्न सक्ने प्रावधान थप्नुपर्ने सुझाव छ।
चौतारीले केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, विभागीय मनोनयनमा सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्तिलाई प्राथमिकता दिनुपर्ने, महिलासहित ७ जना महाधिवेशन प्रतिनिधि उपलब्ध गराउनुपर्ने र राजनीतिक नियुक्तिमा सरोकारवाला संगठनको सिफारिसलाई कार्यान्वयन गर्नुपर्ने माग गरेको छ।

यस्तै, राष्ट्रपति, उपराष्ट्रपति वा संवैधानिक आयोगका प्रमुख आयुक्त/आयुक्तहरूलाई सक्रिय राजनीतिमा फर्कन नदिने संवैधानिक प्रावधान राख्नुपर्ने पनि चौतारीको विशेष सुझावमा परेको छ।
मिडिया कानुनका सन्दर्भमा चौतारीले हाल केन्द्र र प्रदेश तहमा बनेका कतिपय कानुनप्रति गम्भीर चासो व्यक्त गर्दै सरोकारवाला जनसंगठनको सुझावलाई अनिवार्य रूपमा समेटेर मात्र कानुन बनाउन पार्टीले पहल गर्नुपर्ने माग गरेको छ।

नेकपा (एमाले)को आसन्न दोस्रो विधान महाधिवेशन (२०-२२ भदौ, २०८२) मा प्रस्तुत गरिने राजनीतिक तथा सांगठानिक प्रतिवेदनमा समेट्नुपर्ने केही महत्वपूर्ण बुँदाहरू प्रेस चौतारी नेपालका तर्फबाट सुझावका रूपमा पेश गरिएको अनुरोध छ।
१. प्रेस स्वतन्त्रताका सम्बन्धमा
नेकपा (एमाले)ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संरक्षण र सम्बर्द्धन गर्दै आएको छ । यसर्थ, नेपालको संविधानले नै प्रत्याभूति गरेको प्रेस स्वतन्त्रतालाई पार्टी विधानको प्रस्तावनामा नै ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ’ भन्ने वाक्यांश राख्नु उपयुक्त हुने प्रेस चौतारी नेपालको सुझाव छ ।
२. दुई कार्यकाल र ७० वर्षे उमेर हदका सम्बन्धमा
कुनै पनि पार्टी वा आन्दोलनको नेतृत्व गर्न विशेष अनुभव चाहिन्छ । अनुभव प्राप्त गर्नका लागि मानिसको सांगठानिक र राजनीतिक जीवन, क्षमता, योग्यता र सर्वस्वीकार्यता प्रारम्भिक शर्त हो । पछिल्ला वर्षहरूमा नेपालीको औषत आयु पनि बढी रहेको अवस्थामा नेकपा (एमाले) जस्तो विशाल पार्टीले ७० वर्षे उमेरको हद हटाउने र दुई कार्यकाल मात्र पार्टी अध्यक्ष हुन पाउने प्रावधान हटाउने पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयलाई प्रेस चौतारी नेपाल स्वागत र समर्थन गर्दछ ।
३. केन्द्रीय कमिटीका सन्दर्भमा
नेकपा (एमाले) ले जनसंगठनहरूमा पदाधिकारी र केन्द्रीय कमिटीको आकार ठूलो भएका भन्दै ‘पदाधिकारी वान डिजिट’ तथा अधिकांश जनसंगठनको ‘केन्द्रीय कमिटी टू डिजिट’मा झार्ने निर्णय कार्यान्वयन गरिसकेको छ। त्यसैले पार्टीमा पनि यो अभ्यास गर्नु बाञ्छनीय
हुन्छ । यसका लागि विधान संसोधन प्रस्तावको धारा-१६ मा उल्लेख भएको १५ सदस्यीय पदाधिकारीलाई ९ कायम गर्न प्रेस चौतारी नेपालको सुझाव छ। केन्द्रीय कमिटीको संख्या २५१ कायम गर्न चौतारीको सुझाव छ।
४. पार्टी सदस्यता सम्बन्धमा
क) प्रस्तावित विधानको धारा ४ मा उल्लेख गरिएको पार्टी सदस्यको प्रकारमा दुई प्रकारका सदस्य उल्लेख रहेको छ। जसमध्ये पहिलो ‘पार्टी सदस्य’ भन्ने प्रावधानलाई ‘साधारण सदस्य’ वा ‘प्रारम्भिक सदस्य’ राख्नु उपयुक्त हुन्छ।
ख) जनसंगठनमा संगठित भएको बढीमा एक वर्ष भित्रमा पार्टीको साधारण सदस्य लिइसक्नु पर्ने प्रावधान विधानमा राख्नु उपयुक्त हुन्छ।
५. सम्पर्क समन्वय कमिटीका सन्दर्भमा
विधानको धारा ५४ मा उल्लेख भएको सम्पर्क समन्वय कमिटी अन्तर्गत ‘आवश्यक संख्या पुगेमा जनसंगठनले पनि सम्पर्क कमिटी गठन गर्न सक्ने’ भन्ने प्रावधान थप्नु उपयुक्त हुन्छ ।
६. विशेष सुझावहरू
क) देशको सर्वोच्च संस्था राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तित्वहरू सक्रिय राजनीतिमा फर्कने विषय यी पदहरूको गरिमा र नैतिक मूल्यमान्यताका हिसाबले पनि उपयुक्त मानिँदैनन् । त्यसैले त्यस्ता पदमा पुगेका व्यक्तिहरूलाई ससम्मान सक्रिय राजनीतिमा फर्कन नपाउने व्यवस्था देशको संविधान र पार्टीको विधानमा किटान गर्नुपर्दछ । यसका अलावा विभिन्न संवैधानिक आयोगमा नियुक्त भएका प्रमुख आयुक्त र आयुक्तहरूलाई पनि सक्रिय राजनीतिमा आउने कुरालाई रोक्नु उपयुक्त हुन्छ ।
ख) केन्द्रीय कमिटीमा कतिपय जनसंगठनबाट धेरैको प्रतिनिधित्व हुने तर कतिपय जनसंगठनबाट प्रतिनिधित्व नै नहुने अवस्थाको अन्त्य गरिनुपर्छ । साथै, जनसंगठनका अध्यक्षहरूलाई पार्टीको केन्द्रीय कमिटीको पदेन सदस्यको व्यवस्था गर्नु उपयुक्त देखिन्छ देखिन्छ । ।
ग) पार्टी केन्द्रीय कमिटीमा कम्तीमा २० प्रतिशत युवाहरूको प्रतिनिधित्वलाई सुनिश्चितता गर्नु पर्ने।
घ) पार्टीका विभागमा मनोनयन गर्दा जसरी सम्बन्धित क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई प्राथमिकतामा राखिन्छ । त्यसैगरी पार्टी केन्द्रीय सदस्यमा पनि विधागत विज्ञताका आधारमा प्रतिनिधित्व गर्ने गरी निश्चित प्रतिशत छुट्याउने व्यवस्था गर्नुपर्ने ।
ङ) महाधिवेशन प्रतिनिधिका रूपमा हाल जनसंगठनलाई उपलब्ध गराइएको ५ जनाको संख्यालाई बढाएर कम्तीमा १ महिलासहित ७ जना पुऱ्याउनुपर्ने।
च) पार्टी केन्द्र, प्रदेश तथा स्थानीय सरकारमा रहेका बेला राजनीतिक नियुक्तिहरू गर्दा सरोकारवाला संगठनहरूको सिफारिसलाई नै पार्टीले कार्यान्वयन गर्ने व्यवस्था गरियो भने जनसंगठनप्रतिको आकर्षण र गरिमा बढ्ने हुँदा यसलाई पार्टीले गम्भीर रूपमा लिई राजनीतिक प्रतिवेदनमा उल्लेख गर्नु उपयुक्त देखिन्छ ।
७. मिडिया कानुन सम्बन्धमा
प्रेस चौतारी नेपालले मिडिया क्षेत्रको नीति निर्माणमा अगुवाई गर्दै आएको छ। तर, अहिले केन्द्र तथा प्रदेश तहमा निर्माण गरिएका कतिपय मिडिया सम्बन्धी कान्नमा हाम्रो गम्भीर चासो र चिन्ता रहेको छ। मिडिया समुदायको नेतृत्व गर्दै आएको यस प्रेस चौतारी नेपाललाई समेत उपेक्षा गरी कानुन निर्माण भइरहेको तितो यथार्थ छ । यसलाई पार्टीले गम्भीर रूपमा लिई सरोकारवाला जनसंगठनको सुझावलाई समेटर कानुन बनाउने गरी पहलकदमी लिइदिन माग गर्दछौं।
प्रेस चौतारी नेपालले आज बिधान महाधिवेशनका लागि तयार गरिएको सुझाव महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेको छ। अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेत , जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, इंचार्ज राजेन्द्र गौतम, र निवर्तमान अध्यक्ष गणेश बस्नेतको उपस्थितिमा सुझाव हस्तान्तरण गरिएको हो।
पार्टीको नवौं केन्द्रीय कमिटी बैठकको निर्णयको पक्षमा दृढताका पक्षमा उभिने निर्णय गरेको छ । आज पार्टीका जनसंगठन समन्वय संयन्त्र संयोजक भानुभक्त ढकाल र केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, निवर्तमान अध्यक्ष गणेश बस्नेतको उपस्थितिमा प्रेस चौतारीको सुझाव पत्र बुझाएका छौं ।










प्रतिक्रिया