काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गर्नुभएकाे छ। चिनिया राष्ट्रपति सि चिनफिङको औपचारिक निमन्त्रणामा सांघाई सहयोग सङ्गठन (एससीओ) को २५औँ शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन जानुभएकाे हाे।
भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व उपप्रधानमन्त्री एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीको आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा र नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरू सहभागी छन् ।
प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति चिनफिङबिच शनिबार नै द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ। प्रधानमन्त्री ओलीले भदौ १६ गते सम्मेलनमा सम्बोधन गर्ने छन्।
प्रधानमन्त्री ओली एससीओ शिखर सम्मेलन र लगत्तै बेइजिङमा आयोजना हुने ‘चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व फासीवादविरुद्धको युद्ध’ को विजयोत्सवमा सहभागी हुने कार्यक्रममा छ। उक्त कार्यक्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुने कार्यक्रम छ।
चीन भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति, रुसी राष्ट्रपति लगायतसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
चिनिया राष्ट्रपति चिनफिङले उदघाटन गर्ने शिखर सम्मेलनमा एससीओका १० पूर्ण राष्ट्रसहित २० देशका राष्ट्र प्रमुख र सरकार प्रमुख तथा १० वटा अन्तर्राष्ट्रिय संस्थाका प्रमुखहरु सहभागी हुनेछन्।
सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादमिर पुटिन, बेलारुसका राष्ट्रपति अलेक्ज्यान्डर लुकासेन्को, इरानका राष्ट्रपति मसुद पेजेस्कियान, पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफ, कम्बोडियाका प्रधानमन्त्री हुन मनेत, टर्कीका राष्ट्रपति रेसिप तैयिप एर्दोगान, माल्दिप्सका राष्ट्रपति मोहम्मद मुइज्जु लगायत उपस्थित हुने तय भएकाे छ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणको विषयमा जानकारी गराउनुभएकाे थियाे।
प्रधानमन्त्री ओलीको भदौ १८ गते बेलुकी साढे १० बजे स्वदेश फर्कने कार्यक्रम छ ।













प्रतिक्रिया