अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्वराष्ट्रपति राष्ट्रको अभिभावक, केपी ओली नै भावी अध्यक्ष: प्रदीप ज्ञवाली

पूर्वराष्ट्रपति राष्ट्रको अभिभावक, केपी ओली नै भावी अध्यक्ष: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नहुने स्पष्ट पार्नुभएकाे छ।

शनिबार प्रेस चौतारीको केन्द्रीय कार्यालयमा आयोजित आगामी विधान महाधिवेशनको सन्दर्भमा भएको अन्तरसंवाद कार्यक्रममा बोल्दै उपमहासचिव ज्ञवालीले पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकोले अब भण्डारीको पार्टी सदस्यता नवीकरणको कुरा उठाउनु आवश्यक नभएको बताउनु भएकाे हाे।

उपमहासचिव ज्ञवालीले राष्ट्रपति र उपराष्ट्रपति जस्ता पदमा पुगेका व्यक्तिहरू पार्टीमा आबद्ध हुनेभन्दा पनि देशकै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयाे। संविधानको धारा ६२ को उपधारा ६ मा निर्वाचित वा मनोनित जुनसुकै पदमा भए पनि राष्ट्रपति वा उपराष्ट्रपतिमा निर्वाचित हुने बित्तिकै सबै पदहरूबाट स्वतः मुक्त हुने कुरा उल्लेख भएको भन्दै उपमहासचिव ज्ञवालीले भण्डारीको पार्टी सदस्यता पनि सोही बेला नै निष्क्रिय भएको बताउनुभयाे ।

उपमहासचिव ज्ञवालीले पार्टी अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो बेलामा बोल्ड लिडर आवश्यक पर्ने र त्यो केपी शर्मा ओली नै भएको दाबी गर्नुभयाे। उपमहासचिव ज्ञवालीले ओलीको नेतृत्वमा मात्रै पार्टीले वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने बताउनुभयाे । उपमहासचिव ज्ञवालीकाअनुसार आगामी असोज २० देखि २२ गतेसम्म हुने विधान महाधिवेशनमा २ हजार ३ सय ५० जना सहभागी हुनेछन्। यदि विधान महाधिवेशनमा कुनै कुरा टुङ्गोमा पुर्‍याउन मतदान गर्नुपर्ने स्थिति आएमा दशौँ महाधिवेशनमा भाग लिएका २ हजार ३३ जनाले मतदान गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिनुभयाे।

जनताको बहुदलीय जनवाद ९जबज० को विकल्प एमालेले खोज्न थाल्यो भन्ने बुझ्दै नबुझि टिकाटिप्पणी भइरहेकोमा उपमहासचिव ज्ञवालीले आपत्ति जनाउनुभयाे । उपमहासचिव ज्ञवालीले माक्र्सवाद–लेनिनवादलाई नेपालको विशिष्ट परिस्थितिमा लागू गर्ने क्रममा यसको सृजनात्मक प्रयोगको रूपमा एमालेले जबज ल्याएको र नेपालको सन्दर्भमा माक्र्सवाद भनेकै जबज भएको स्पष्ट पार्नुभयाे ।

उपमहासचिव ज्ञवालीले पाँचौँ महाधिवेशनमा कार्यक्रम भने पनि सिद्धान्तका आधारहरू रहेको, छैटौँ महाधिवेशनमा निर्देशक विचारको रूपमा सबै विचारहरूलाई मार्गदर्शन गरेको, सातौँमा त्यसैलाई निरन्तरता दिएको, आठौँमा मार्गदर्शक सिद्धान्त भनेको, नवौँमा २० वर्षको अभ्यासले जबज कसरी सही प्रमाणित भयो भन्ने विषयमा छलफल गरेको र दशौँमा त्यसलाई अझ माथि उठाएको बताउनुभयाे। यही कारण जबजलाई मार्गदर्शक सिद्धान्तको रूपमा थप पुष्टि गर्नुपर्ने उहाँको भनाइ छ।

उपमहासचिव ज्ञवालीले यस महाधिवेशनमा जबजले सामन्तवादको अन्त्य गर्न, निरंकुश राजतन्त्र अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सामाजिक न्याय, समावेशीता र मौलिक अधिकारसहितको प्रणाली स्थापित गर्न, समाजवादउन्मुख संविधान निर्माण गर्न मार्गदर्शन गरेको विषयमा जोड दिइने बताउनुभयाे।

उपमहासचिव ज्ञवालीले जबजको यात्रा यहाँ मात्रै नरोकिने भन्दै अब समृद्धिको यात्रामा जानका लागि जबजलाई समयाअनुकूल विकास गर्नुपर्ने बताउनुभयाे । यस विकासको क्रममा लोकतान्त्रीकरणका कुराहरू पनि थप गर्न खोजिएको उहाँले जानकारी दिनुभयाे ।