ललितपुर-नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा राष्ट्रिय स्वाभिमान, स्थायित्व र समृद्धि सम्भव हुने दाबी गर्नुभएकाे छ।
गोदावरी नगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेल, ‘देशमा ओलीको विकल्प छैन। संसदमा दोस्रो ठूलो पार्टी भए पनि जनताको मनमा एमाले नै पहिलो पार्टी हो।’

महासचिव पोखरेल ७० वर्षे उमेर सीमा बढाइएको ओलीका लागि मात्र नभएको उल्लेख गर्दै, नेतृत्व क्षमता र राजनीतिक दृष्टिकोणकै कारण ओली नै राष्ट्रको विकल्प रहेको दोहोर्याउनुभयाे। महासचिव पोखरेले भन्नुभयाे, ‘संवैधानिक संसदीय व्यवस्थामा राष्ट्रपतिको छुट्टै स्थान छ। पूर्व राष्ट्रपतिलाई स
म्मानित र मर्यादित रहनु आवश्यक छ। पार्टीले आफ्नो नेताको सम्मानमा कुनै कसर बाँकी राखेको छैन।’
महासचिव पोखरेलले दुर्गा प्रसाई र रवि लामिछानेजस्ता नेताहरूको ‘छाडा बोल्ने प्रवृत्ति र अराजकताप्रतिको प्रशंसा समाजका लागि हानिकारक’ भएको बताउनुभयाे।

महासचिव पोखरेलले भारतले लगाएको नाकाबन्दीको ओलीकै नेतृत्वमा डटेर सामना गरिएको उल्लेख गर्दै भन्नुभयाे, ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा बदल्ने सामर्थ्य ओलीबाहेक कसैमा छैन। ढिलोचाँडो छिमेकीले पनि यस विषयमा सुन्नै पर्छ।’
महासचिव पोखरेलका अनुसार एमाले पटक–पटक फुटेपनि पुनः संगठित हुने क्षमता राख्ने पार्टी हो। “दूरदर्शी नेतृत्व ओलीमै छ, एमाले बलियो राजनीतिक शक्ति बनेको छ र अब ‘मिसन ८४’ सफल पार्दै अघि बढ्छ,” महासचिव पोखरेल भन्नुभयाे।
कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य तथा बाग्मति प्रदेश इञ्चार्ज राजन भट्टराईले पनि पार्टीभित्र निराश हुने अवस्था नरहेको बताउनुभयाे। “२०७९ को तुलनामा अहिलेको परिवेश अनुकूल हुँदै गएको छ। व्यक्तिगत दम्भ र जुँगाको लडाइँ त्यागेर फराकिलो छाती बनाएर पार्टी एक भए विजय सुनिश्चित हुनेछ,” भट्टराईले भन्नुभयाे।

उहाँका अनुसार पार्टी एकता, संगठन विस्तार र कार्यकर्ताको सक्रियताबाट ‘मिसन ८४’ सफल पार्दै एमाले अझ शक्तिशाली बन्नेछ।
नेता भट्टराईले भदौ २० देखि २२ सम्म गोदावरीमै हुने दोस्रो विधान महाधिवेशन पहिलो महाधिवेशनको समीक्षासहित ‘मिसन ८४’ सफल बनाउन मार्गनिर्देशक हुने विश्वास व्यक्त गर्नुभयाे। उहाँका अनुसार विधान महाधिवेशनले पार्टीलाई अझ सुदृढ बनाएर २०८४ सालको निर्वाचन आफ्नो पक्षमा पार्न सहयोग गर्नेछ।
नगर कमिटी अध्यक्ष विक्रम घिमिरेले विधान महाधिवेशन गोदावरीमै हुनु नगरवासीका लागि सुखद भएको बताउनुभयाे। “२०५४ सालको एमालेको विरासत २०८४ सालमा फर्किन्छ। गोदावरीमा गुट उपगुटलाई ठाउँ दिइने छैन,” उहाँले भन्नुभयाे।
यसैगरी, कमिटी उपाध्यक्ष रमी प्रधानाङ्गले समय–समयमा आन्तरिक तथा बाह्य प्रहार भए पनि एमाले कहिल्यै विचलित नभएको उल्लेख गर्नुभयाे। उहाँले कार्यकर्तालाई एकताबद्ध भई संगठन सुदृढ बनाउन आह्वान गर्नुभयाे।
नेताहरूले एमाले बलियो राजनीतिक शक्ति भएकाले आगामी निर्वाचनमा विजय पक्का हुने दाबी गर्दै कार्यकर्तालाई सक्रिय र संगठित रूपमा अघि बढ्न आह्वान गर्नुभयाे।
कार्यक्रम अघि टाहाखेल चाैताराेबाट धिमे बाजा , खैजडि भजनले स्वागत गरेका थिए ।







प्रतिक्रिया