अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान

करम पूजा पर्वमा सार्वजनिक बिदा दिएपछि मुख्यमन्त्री कार्कीलाई सम्मान


विराटनगर-झाँगड उराँव समुदायले मनाउँदै आएको करम पूजा पर्वलाई सम्मान गर्दै कोशी प्रदेश सरकारले गत वर्षदेखि झाँगड उराँव समुदायलाई मात्रै हुने गरी सार्वजनिक बिदा दिने निर्णय गरेपछि सो समुदायमा समुदायमा खुशी छाएको छ। सो समुदायका अगुवा छेबीलाल उराँव यसले आफ्नो समुदायलाई धेरै खुसी दिएको बताउनुभयो। बिदा बाट खुसी भएका नेपाल झाँगड उराँव युवा मोर्चाले आज कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई सम्मान गरेका छन्। मुख्यमन्त्री कार्यालयमा आएर उहाँहरुले मुख्यमन्त्री कार्कीलाई सम्मान गर्नुभएको हो।

करम पूजा पर्व हरेक वर्ष भाद्र महिनाको अनन्त चतुर्दशी , पूर्णिमाका दिन मनाइन्छ। झाँगड उराँव जाति लोप उन्मुख समुदायमा पर्छ। यो जातिको बसोबास मुख्यतया कोशी प्रदेशका मोरङ, सुनसरी, झापा लगायतका जिल्लामा रहेको छ।

२०७८ सालको जनगणना अनुसार नेपालभर करिब ४१ हजार झाँगड उराँव समुदायका मानिसहरू छन्। सम्मान ग्रहण गर्दै मुख्यमन्त्री कार्कीले उक्त समुदायको भाषा, संस्कृति र परम्परागत पहिचानको संरक्षण तथा सम्बर्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

सो समुदायका अगुवा छेविलाल उराँव र युवा मोर्चाका अध्यक्ष देवनारायण उराँवसहित अन्य प्रतिनिधिहरूले मुख्यमन्त्रीलाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो।