अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रा पुर्खाले पानी नखाईकन जोगाएको भूमि हो: डा. राजन भट्टराई

लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रा पुर्खाले पानी नखाईकन जोगाएको भूमि हो: डा. राजन भट्टराई


काठमाडौं-नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा परराष्ट्रविद् डा. राजन भट्टराईले हालै सम्पन्न प्रधानमन्त्रीको चीन भ्रमणलाई राष्ट्रिय हितको दृष्टिले अत्यन्त महत्वपूर्ण भएको टिप्पणी गर्नुभएको छ।

प्रेस चौतारी नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे परराष्ट्रविद्सँग अन्तसंवाद’ कार्यक्रममा बोल्दै डा.भट्टराईले प्रधानमन्त्रीले चीनको भूमिमा स्पष्ट रूपमा लिपुलेक सम्बन्धी नेपालको अडान राख्नु ऐतिहासिक र राष्ट्रिय स्वाभिमानको रक्षा गर्ने साहसी कदम भएको बताउनु भएको छ। 

उहाँका अनुसार प्रधानमन्त्री शाङ्घाई सहयोग संगठनको बैठकमा सहभागी हुन र दोस्रो परेड कार्यक्रममा उपस्थित हुन चीन जानुभएको थियो। सो अवसरमा चिनियाँ राष्ट्रपतिको उपस्थितिमा लिपुलेक, कालापानी र लिम्पियाधुरा विषयमा नेपालको दृष्टिकोण कूटनीतिक बारेमा स्पष्ट रूपमा राखिएको बताउनु भएको छ। 

प्रधानमन्त्रीले हालै चीनको विदेशमन्त्रीको भारत भ्रमणमा भारत-चीनबीच भएको १० बुँदे सहमतिमा उल्लेखित व्यापारिक मार्गको पुनः सञ्चालन सम्बन्धी विषयप्रति गम्भीर आपत्ति जनाउनुभएका कुरा उठाउँदै डा. भट्टराईले  लिपुलेकको नाम खुला रूपमा नआए पनि आठौं बुँदाको सन्दर्भ स्पष्ट रूपमा त्यही क्षेत्रसँग सम्बन्धित रहेको बताउनुभयो।

डा. भट्टराईले नेपालको सिमा निर्धारण सधैं सुघौली सन्धिको ऐतिहासिक आधारमा भएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘यदि हामीले सुघौली सन्धिलाई मान्दैनौं भने नेपालको सिमाना अहिलेको सीमामा मात्र सीमित रहँदैन-पश्चिममा काँगडासम्म र पूर्वमा टिस्टासम्म दाबी गर्न सकिने ऐतिहासिक प्रमाणहरू छन् ।’  उहाँले नेपालले विगतमा ऐतिहासिक रूपमा सन्धिको स्वीकारोक्ति गरिसकेको र त्यसका आधारमा नै सीमा व्यवस्थापन हुँदै आएको पनि स्मरण गराउनुभयो। उहाँका अनुसार सन्धि स्वीकारेपछि २०२६ सालमा १७ वटा भारतीय चेकपोस्टहरू हटाइएका थिए तर लिपुलेकस्थित चेकपोस्ट भने हटाइएको थिएन, जसको वर्तमान सन्दर्भमा गम्भीर कूटनीतिक महत्त्व छ उहाँले भन्नुभयो।

डा. भट्टराईले  २०५५ सालमा महाकाली सन्धिपछि गठित कार्यदलको संयोजकका रूपमा तत्कालीन नेता केपी शर्मा ओलीले नै भएको र  कालापानी क्षेत्र नेपालकै हो भनेर स्पष्ट रूपमा अभिव्यक्ति दिनुभएको थियो। तर तत्कालीन सभामुख रहेका वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलले  उक्त कुरा सदनमा उठाउन नदिएको समेतत बताउनुभयो।  केपी शर्मा ओलीले निरन्तर यो विषय उठाउँदै आउनुभएको भनेर समेत बताउनुभयो। 

अहिले प्रधानमन्त्रीले पुनः चीनको भूमिमा नेपालको सीमा अडान राख्नु ऐतिहासिक निरन्तरताको सन्देश भएको भन्दै डा. भट्टराईले भन्नुभयो, ‘यो त्यो भूमि हो, जुन हाम्रा पुर्खाहरूले पानी नखाईकन जोगाएको हो। आज हामी जिम्मेवार नागरिकका रूपमा यो दाबीलाई बलियोसँग प्रस्तुत गर्नुपर्छ।’ उहाँले थप भन्नुभयो, ‘यो ऐतिहासिक, तथ्यपरक र राष्ट्रिय संवेदनशीलताको विषय हो- अडान छोड्नु हुँदैन, बरु अझ दृढताका साथ अगाडि बढ्नुपर्छ।’

उहाँले भारतले पटक-पटक नेपालका चासोलाई बेवास्ता गर्दै आएको उल्लेख गर्दै चीनले पनि ‘तपाईंहरूबीचको विषय हो’ भन्दै पन्छिने प्रवृत्ति देखाएकोप्रति आपत्ति जनाउनुभयो। ‘चीनले विगतमा गरेको प्रतिबद्धताको पालना नगरेको प्रष्ट देखिन्छ, उसले पनि अब आफ्नो स्पष्ट धारणा सार्वजनिक रूपमा राख्नुपर्छ,’ उहाँले बताउनुभयो ।

लिपुलेक, कालापानी र लिम्पियाधुरा १४६ वर्षसम्म नेपालको प्रशासनिक नियन्त्रणमा रहेको ऐतिहासिक तथ्य दस्तावेजहरूले पुष्टि गरिसकेको उल्लेख गर्दै डा. भट्टराईले यस्ता भू-भागको संरक्षण गर्नु नेपाली नागरिकको ऐतिहासिक र राष्ट्रिय दायित्व रहेको बताउनु भयो। उहाँले यसअघि सीमाना विवादमा चुप लाग्ने नेताहरू अब पनि मौन बस्न नहुने स्पष्ट गर्दै भन्नुभयो, ‘हामीले पहिले नै जुन सन्धि स्वीकार गरिसकेका छौं, त्यसअनुसारको भूभागमा तलमाथि गर्ने अधिकार कसैलाई छैन। अब राष्ट्रको पक्षमा अडान लिने समय आएको छ।’

परराष्ट्रविद् डा. भट्टराईले सीमा विवाद समाधानको बाटो संवाद र कूटनीतिक प्रयास नै भएको बताउँदै भारत र चीन दुवै पक्षसँग प्रमाणसहितका तर्कमार्फत कुरा अगाडि बढाउनुपर्ने धारणा व्यक्त गर्नुभयो। ‘नेपाल र भारतबीच बहुआयामिक सम्बन्ध रहे पनि सीमाको विषयमा फरक दृष्टिकोण छ।’ उहाँले सहकार्य भइरहे पनि विवादित विषयमा दृढ अडानसहित संवाद गर्नुपर्नेमा जोड दिनुभयो। उहाँको निष्कर्ष थियो‘हामीले राष्ट्रिय अडान कहिल्यै छोड्नु हुँदैन।’ परराष्ट्रविद् डा. भट्टराईले प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बताउनुभएको छ।