अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीनको ८०औं विजय दिवस

चीनको बेइजिङमा सैन्य परेड, ५० हजार पाहुँनासँगै प्रधानमन्त्री ओली पनि सहभागी

चीनको बेइजिङमा सैन्य परेड, ५० हजार पाहुँनासँगै प्रधानमन्त्री ओली पनि सहभागी


काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली आज जापानी उपनिवेशविरुद्ध चीनले आयोजना गरेको सैन्य परेडमा सहभागी हुनुभएको छ।

चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली चीनको तियानमेन स्क्वयारमा भव्य समारोह सैन्य परेडमा सहभागी हुनुभएको हो। जापानविरुद्धको यस परेडमा नेपालका प्रधानमन्त्री ओलीसहित रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाली नेता किम जोङ उनलगायत २६ देशका राष्ट्र तथा सरकार प्रमुख र ५० हजार पाहुना सहभागी छन्। 

जापानीहरुले गरेको आक्रमणमा विजय हासिल गरेको दिनको स्मरणमा हरेक वर्ष चीनले विजयोत्सव मनाउँछ। यो ८० औं विजयोत्सव कार्यक्रम हो।

‘भिक्ट्री–डे’को अवसरमा आयोजित यस कार्यक्रममा चिनियाँ सेनाले अत्याधुनिक मिसाइल, हवाई प्रतिरक्षा प्रणाली, बम वर्षक लडाकु विमान र ट्यांकसहितका हातहतियार प्रदर्शन गरेका छन्। बेइजिङको आकासमा १४ रंग छर्दै जे–१० एरोबेटिक्स विमानले एयर सो प्रदर्शन गरेका थिए। सोही स्क्वायरमा १४ मिटर अग्लो स्मृति मञ्च निर्माण गरिएको छ, जसमा सन् १९४५ र २०२५ को प्रतीक स्वरूप १४ वटा दीपस्तम्भ राखिएका छन् ।

दीपस्तम्भमाथि शान्तिको प्रतीक १४ परेवा उडाइएको छ। जसले १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले आफ्नै रगत–मासुबाट बनाएको रुपक ‘महान भित्ताकोट’लाई जनाउँछ। समारोहमा चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सम्बोधन गर्ने र सैनिक निरिक्षण गर्ने कार्यक्रम समेत रहेको छ।

चीन फासिवादी आक्रमणविरुद्ध लड्ने पहिलो राष्ट्र थियो र सबैभन्दा लामो समयसम्म प्रतिरोधमा टिक्यो । १४ वर्ष लामो युद्धमा चिनियाँ जनताले ३ करोड ५० लाखभन्दा बढी जनधन गुमाए। अपार राष्ट्रिय बलिदानमार्फत चीनले विश्व फासिवाद विरोधी युद्धको पूर्वी मोर्चामा निर्णायक भूमिका खेलेको थियो।

जापानले सन् १९४५ सेप्टेम्बर २ मा आत्मसमर्पणपत्रमा हस्ताक्षर गर्दै चीनसहित सहयोगी राष्ट्रहरूसमक्ष हार स्वीकार गरेको थियो । चीनले भोलिपल्ट, सेप्टेम्बर ३ मा विजय दिवस मनाएको थियो। सन् २०१४ मा चीनले सेप्टेम्बर ३ लाई आधिकारिक रूपमा प्रतिरोध युद्धको विजय दिवस घोषणा गर्ने कानून बनाएको छ।