काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीका उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले राखेको फरक मतबारे विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठकले टुंगो लगाउने बताउनु भएकाे छ।
नेकपा एमालेको विधान महाधिवेशन तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले उपाध्यक्षद्वयको निर्णयमाथिको असहमति विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने बताउनुभएको हाे।

महासचिव पोखरेलले पार्टीका उपाध्यक्षद्वय पाण्डे र ज्ञवालीको प्रस्तावमाथि नभई पूर्वराष्ट्रपति विद्या भण्डारीबारे गरिएको निर्णयमाथि असहमति मात्रै भएको बताउनुभयाे।
‘दुई जना उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पूर्व राष्ट्रपति राजनीतिमा फर्किनु हुँदैन भन्ने निर्णयमा फरक मत राख्नु भएको छ,’महासचिव पोखरेले भन्नुभयो, ‘निर्णयमाथिको फरक मतमा विधान महाधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने भन्ने कुरा सचिवालय बैठकले टुंगो लगाउँछ।’
एमालेको सचिवालय बैठक भोलि दिउँसो ३ बजे बोलाइएको छ। त्यस्तै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले विधानबारे फरक मत राखेको भन्दै त्यसबारे भने विधान महाविधेशनमा छलफल हुन सक्ने महासचिव पोखरेले बताउनुभयो। यद्यपि, त्यसबारे पनि सचिवालयले नै टुंगो लगाउने उहाँको भनाइ छ।
महासचिव पोखरेलले भन्नुभयो, ‘कर्ण थापाले पार्टी जीवनको लोकतान्त्रिकरणको विषय उठाएर उहाँले पनि विधानमा फरक मत राख्नुभएको छ। त्यो विधानमाथि छलफल हुन सक्ला। त्यो विषय पनि भोलिको सचिवालय बैठकले नै निरूपण गर्ला। अरूले फरक मत राख्नुभएको छैन।’







प्रतिक्रिया