काठमाडौं-नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नखोसेको बताउनु भएको छ। बुधवार एमाले पार्टी कार्यालय च्यासलमा विधान महाधिवेशन तयारीबारे आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हाे।
महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता खोसिएको नभई परित्याग गरेको स्पष्ट पार्नुभयो। उहाँले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको बताउनुभयो।
महासचिव पोखरेलले भन्नुभयो, ‘सदस्यता खोसिएको होइन, परित्याग गरेको विषय हो। परित्याग गरेको विषयलाई पुन: कायम गर्ने कि नगर्ने भन्ने निर्णय पार्टीले गर्ने हाे। पूर्वराष्ट्रपति र उपराष्ट्रपतिबारे पार्टीले फैसला गरिसकेको छ। त्यसमा पार्टी कायमै।’
महासचिव पोखरेललेदुई उपाध्यक्षको निर्णयमाथिको असहमति विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठकले टुङ्ग्याउने जानकारी दिनुभयो।
महासचिव पोखरेलले पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा आउन नहुने र उहाँको सदस्यता कायम नहुने पार्टी निर्णयमाथि नेताहरूले राखेको फरक मतबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुने बताउनुभयो।
‘उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी राजनीतिमा फर्कनु हुँदैन र सदस्यता नवीकरण भएको छैन भन्ने निर्णयमा फरक मत राख्नुभएको छ’, महासचिव पोखरेलले भन्नभयो, ‘त्यो दस्ताबेजमाथिको फरक मत होइन केन्द्रीय कमिटीको निर्णय माथिको हो, त्यसैले भोलि बस्ने सचिवालय बैठकमा त्यसबारे छलफल हुन्छ।’
महासचिव पोखरेलले उपाध्यक्षद्वयले विचारमा नभई निर्णय मात्र फरक मत राखेको दाबी पनि गर्नुभयो । निर्णय र दस्ताबेजमाथिको फरक मतमा भिन्नता हुने भन्दै फरक मतमाथिको छलफल गर्ने आफ्नै विधि रहेको महासचिव पोखरेलले बताउनुभयो।
‘कुनै पनि अधिवेशनमा राखिने फरक मत सम्बन्धित अधिवेशनमा छलफल गर्ने पार्टी नियमावलीले गरेको छ’, महासचिव पोखरेलले भन्नुभयो, ‘कसैले फरक मत राख्नुभयो भने सम्बन्धित अधिवेशनमै छलफल गर्ने हाम्रो वैधानिक व्यवस्था छ।’







प्रतिक्रिया