अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश प्रस्थान


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो औपचारिक चीन भ्रमण पूरा गरी स्वदेश प्रस्थान गर्नुभएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन २०८२ भदौ १४ चीन जानुभएका प्रधानमन्त्री ओली आज बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश प्रस्थान गर्नुभएको हाे।

परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलका अनुसार, उहाँ आज साँझ साढे ८ बजे काठमाडौं आइपुग्ने छन्।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियानजिनमा भेटवार्ता गर्नुभएको थियो। यस्तै, चिनियाँ उपराष्ट्रपति हान झेङसँग मंगलबार बेइजिङमा भेटवार्ता गरेका थियो।

शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायत विश्वका नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो। करिब २५ मिनेट भएको यो भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनले एकअर्कालाई भ्रमणको निम्तो दिएका छन्।

प्रधानमन्त्री ओलीले मालदिभ्सका राष्ट्रपति तथा कम्बोडिया, लाओस, भियतनामका प्रधानमन्त्रीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।

सम्मेलनकै क्रममा प्रधानमन्त्री ओलीले भारती प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटवार्ता गर्नुभएको थियो।

प्रधानमन्त्री ओलीले सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनलाई सम्बोधन गर्दै बहुपक्षतामा जोड दिनुभएको थियो।

सन् २००१ मा स्थापना गरिएको एससिओ विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनमध्ये एक हो। यस संगठनमा चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य छन्।

कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन्।

प्रधानमन्त्री ओली नेतृत्वको २३ सदस्यीय प्रतिनिधि मण्डलमा पत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका उपाध्यक्ष एवम् सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छविलाल विश्वकर्मा, सरकारी अधिकारी, पत्रकार लगायत जानुभएको थियाे।