काठमाडौं- दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरु भएको छ। सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली हिजो राती चीन भ्रमणबाट फर्किएपछि विधान महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदनहरूलाई अन्तिम रूप दिन बैठकको आयोजना गरिएको हो।
बैठकमा विधान महाधिवेशनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीको तर्फबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले प्रस्तुत गर्ने विधान संशोधन प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।
तीनवटै प्रतिवेदनका प्रस्तुतकर्ताले प्रतिवेदनको व्याख्या गर्ने र सचिवालयले पास गरेको प्रतिवेदन भोलि विधान महाधिवेशनमा पेश हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयाे। ‘तीनवटै प्रतिवेदनका प्रष्तुतकर्ताहरुले प्रतिवेदनको व्याख्या पनि गर्नुहुनेछ’ गौतमले भन्नुभयो, ‘सचिवालयले पास गरेको प्रतिवेदन भोली विधान महाधिवेशनमा पेश हुनेछ।’
गौतमका अनुसार अध्यक्ष ओली पाँच दिन देखि चीन भ्रमणमा रहनु भएकोले महाविधेशनको तयारी, व्यवस्थापन र उपसमितीले गरेका कामहरुको ब्रिफिङ पनि बैठकमा गरिनेछ।
त्यस्तै पूर्वराष्ट्रपति विद्या भण्डारीलाई सदस्यताबारे केन्द्रीय कमिटी बैठकले गरेको निर्णयमा दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले राखेको फरक मतबारे विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे पनि छलफल हुन सक्ने जनाएकाे छ।
एमालेको विधान महाधिवेशन भोलिदेखि ललितपुरको गोदावरीस्थित सनराइज हलमा सुरु हुँदैछ। प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।











प्रतिक्रिया