ललितपुर-पर्यटकीय स्थल ललितपुर गोदावरी। सातदोबाटोदेखि १० किलोमिटर गोदावरी जाने बाटोदेखि १८ वटा झकिझकाउ स्वागत द्वार निर्माण भएका छन्। दायाँबाँया बिजुलीका खम्बामा नेकपा (एमाले)को हँसिया हथौडा र चुनाव चिन्ह सूर्य ध्वजावाहक झन्डाले सिङ्गारिएका छन्। जसले गोदवारीको आकर्षण थप गरिदिएको छ।
यी झकिझकाउको तयारी शुक्रबारदेखि तीन दिनसम्म चल्ने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक र पाहुनाहरुका लागि नयाँ शैलीका स्वागत द्वार तयार पारिएका हन्। नेकपा (एमाले)ले आयोजना गर्ने सम्मेलन, महाधिवेशन लगायत जुनसुकै आयोजनाका मञ्च, स्वागत द्वार, लोगो आफैमा सधैं चर्चाको विषय बन्छन्।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने नेकपा (एमाले) दोस्रो विधान महाधिवेशन स्थल गोदावरी सनराइज सभाहललाई पुरै बेहुली झैँ सिङ्गारिएको छ। हलतिर जाने बाटोदेखि कलात्मक स्वागतद्वार निर्माण गरिएका छन्।
सातदोबाटोदेखि तपाईं जति गोदावरीतिर जाँदै हुनुहुन्छ भने छुट्टै अनुभव गर्नु हुनेछ। तपाईं महाधिवेशन सभाहलसम्म पुग्दा नविन प्रकारको ‘माक्र्ससिजम् डिजिटल वल्र्ड’मा छिरेको अनुभव गर्नुहुनेछ। पार्टीको पाँचौ महाधिवेशनदेखि बाँस, काठ, हस्तलिखित व्यानरबाट मञ्च, स्वागतद्वार निर्माण गर्दै आएका पार्टी स्थायी कमिटी सदस्य विनोद श्रेष्ठ यतिखेर सनराइज सभा हललाई पुरै डिजिटल सिस्टममा जोड्दै छन्। ‘पाँचौ महाधिवेशनमा बजाएको सिठ्ठी अझै छ। त्यही सिठ्ठी फुकेर मञ्च बनाइरहेको छु’, मञ्च व्यवस्थापन संयोजक विनोद श्रेष्ठले भन्नुभयो।
सभा हलको सिट संख्या २८ सय ४० रहेको छ। हलभित्र छिर्ने ४ वटा प्रवेश द्वार छन्। पहिलो द्वारबाट भिभिआइपी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको मात्रै प्रवेश गर्नुहुने छ। अन्य पदाधिकारी, मन्त्री, मुख्यमन्त्री सबै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रतिनिधिसँगै प्रवेश गर्ने छन्। त्यहीँदेखि तपाईं ‘माक्र्ससिजम डिजिटल’ वल्र्डमा प्रवेश गर्नुहुने छ। तपाईंसँग भएको महाधिवेशन प्रतिनिधि, पर्यवेक्षकको पचियपत्रलाई कम्प्युटरले पढेपछि अर्थात् स्क्यान गरेर मात्रै भित्र छिर्न पाउनु हुनेछ। त्यहीँबाट तपाईं ‘एमाले डिजिटल वल्र्ड’मा प्रवेश गर्नुहुनेछ।
परिचय स्क्यान गर्ने ६ वटा कम्प्युटरका बुथ छन्। त्यही बुथबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवकहरुले प्रवेश पाउने छन्। मूल प्रवेश द्वारबाट प्रवेश गर्दा साथ हलको छतबाट पार्टी र चुनाव चिन्ह सूर्य अंकित झण्डा लहरै फहराएका छन्।
अन्तिम प्रवेश द्वारबाट क्याटरिङ्गका लागि खाद्यन्न, खाने पानी ढुवानीका लागि खुला गरिएको छ। दोस्रो र तेस्रो प्रवेश द्वारबाट महाधिवेशन हल छिर्दासाथ दाँयातिर प्रधानमन्त्री ओलीको पूर्ण कदसहित हात उठाएको तस्विर, दोस्रो विधान महाधिवेशनको लोगो राखिएको छ । हलको भित्तामा महाधिवेशनको लोगो, नेकपा (एमाले) र अंग्रेजीमा ‘सीपीएन यूएमल’ले स्वागत गरिएको छ। पानी फोहोराका साना पोखरीमा सेता हाँसका जोडि खेलेको देख्नुहुनेछ।
बाँयातिर नेकपाका संस्थापक महासचिव पुष्पलाल, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको पूर्णकदको तस्विर राखिएको छ। पश्चिमतिर कार्लमाक्र्स, एङ्ेल्स र लेनिनको पूर्ण कदसहित तस्विर राखिएको छ । हलभित्र २२ सय स्क्वार फिट डिजिटल बोर्ड राखिएको छ।
सभा हलको पर्खालसँगै मिडिया सेन्टरको व्यवस्था गरिएको छ। पूर्ण वाइफाई जोनसहितको मिडिया सेन्टरमा डिजिटल बोर्डको व्यवस्था गरिएको छ। प्रतिनिधि, पर्यवेक्षकको परिचयपत्र मूल गेटमा मात्रै होइन हलभित्र पस्दा पुनः स्क्यान गरिन्छ। त्यहीँबाट स्वयं सेवकले कसलाई कुन द्वार र कुन सिटमा बस्ने भनेर व्यवस्था मिलाउने छन्। हलको बाहिर ६ वटा कार्डस्कान बुथको व्यवस्था गरिएको छ। डिजिटल वोर्डमा महाधिवेशनको व्यानर हुनेछ। मञ्चमा १८ जना पदाधिकारीहरु मात्रै बस्ने छन्। मञ्चमा दुई खण्ड बनाइएको छ। अघिल्लो खण्डमा अध्यक्ष ओली बस्नु हुनेछ अन्य पदाधिकारीहरु पछिल्लो खण्डमा मर्यादा अनुसार बस्ने व्यवस्था मिलाइएको छ।
उद्घाटन कसरी गर्ने ? त्यसको डिजिटल कन्सेप्ट अझै टुंगो लागेको छैन। नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रम उद्घाटन गर्नुहुनेछ। तर परम्परागत उद्घाटन, स्वागत, शुभकामना मन्तव्य जस्ता कार्यक्रम रहने छैन। उद्घाटनको काम १२ मिनेटभित्र सक्किने छ। उद्घाटन समारोहमा मंगल धुन, सहिदको सम्झनामा शोक धुन, राष्ट्रिय धुन, अन्तर्राष्ट्रिय कम्युनिस्ट गीतको धुन बज्ने छ। उद्घाटन समारोहमा सभा हलभित्र धुन बजिरहँदा बहिर मिडिया सेन्टरमा कलाकारहरुले आर्ट बनाउने छन्। जसको लाइभ भित्र हलमा पनि गरिने छ। झाँकीहरु हल बाहिर नै प्रर्दशनको व्यवस्था गरिएको छ।
१२ मिनेटको धुन सक्किए पछि अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन पेश गर्नु हुनेछ । त्यस लगत्तै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलद्वारा विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलद्वारा संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ। त्यसैगरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नु हुनेछ। उद्घाटनसँगै बन्दसत्र एकै साथ सुरु हुने भएकाले दिउँसो १ बजेतिर चिया÷खाजाका लागि १ घन्टा ब्रेक हुने छ।
दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल २३ सय ४१ जनाको सहभागी रहने छन् । स्वयं सेवक, सुरक्षा निकायसहित ३५ सय जनालाई खानाको व्यवस्था गरिएको छ। आवासको व्यवस्था नगरिएकाले साँझा साढे ५ बजेभित्र प्रतिवेदन वाचन गरेर पहिलो दिनको कार्यक्रम सक्किने छ।
२१ गते सबै प्रतिवेदन माथिको छलफलका लागि १० समूहमा विभाजन गरी छलफल गराइने छ। त्यसका लागि माथि छतमा ४, हल प्रवेश छेउँमा २, हलभित्र २ र बाहिर क्याटरिङ स्थलमा २ वटा समूह छलफलको लागि व्यवस्था मिलाइएको छ। सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण लगायत आवश्यक सबै काम पूरा भएको ललितपुर जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम आचार्यले बताउनु भयो।







प्रतिक्रिया