अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आगामी निर्वाचनमा एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन: केपी ओली

आगामी निर्वाचनमा एमालेलाई एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन: केपी ओली


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले २०८४ को निर्वाचनमा आफ्नो पार्टीलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ। उहाँले आगामी निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गर्नुभयो।

शुक्रबारबाट सुरु भएको पार्टीको दोस्रो विधान महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मिसन ०८४ मा एकल बहुमत ल्याउँछौँ । जनताबीच गयौँ भने बहुमत ल्याउन कसैले रोक्न सक्दैन । सरकारमा भएर निर्वाचन धाँधली रोक्नेछौँ ।’

अध्यक्ष ओलीले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माण गर्ने पनि दाबी गर्नुभयो। एमालेलाई ध्वस्त गर्दिन्छौँ भन्नेहरू भए पनि जनताको समर्थनका कारण आफूहरू निर्णायक शक्ति बनेको अध्यक्ष ओलीको भनाइ छ ।

उहाँले उक्त निर्वाचनमा आफूहरू पनि सरकारमै हुने भन्दै धाँधली हुन नदिने पनि बताउनुभयाे।

अध्यक्ष ओलीले निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुने पनि बताउनुभयाे । ‘हामी सरकारमा छौं। आउँदो निर्वाचन कसैले धाँधली गर्न सक्दैन। हामी सरकारमा रहेर नै धाँधली रोक्नेछौं। निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्ण निर्वाचन हुनेछ,’ प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले भन्नुभयाे ।