काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दोस्रो विधान महाधिवेशनको आज दोस्रो पनि जारी रहनेछ। ललितपुर, गोदावरीस्थित सनराइज हलमा आज दोस्रो दिन पनि हिजो बाँकी रहेका प्रतिवेदनको प्रस्तुतीकरण हुने छ।
विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनहरूमा विस्तृत छलफल गर्न १० वटा समूह बनाइएको छ। आज (शनिबार) ती समूहहरूमा दिनभर छलफल गरेर निष्कर्ष निकाल्ने कार्यसूची तय भएको छ।
आइतबार प्रत्येक समूहको निष्कर्ष प्रस्तुत गरिनेछ। समूहहरूको प्रस्तुतिबाट आएको निष्कर्ष प्रतिवेदन प्रस्तोताहरूले स्पष्ट पार्नेछन् र त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनलाई सम्बोधन गर्दै औपचारिक रूपमा समापन गर्ने कार्यक्रम तय भएको छ।

महाधिवेशनको पहिलो दिन शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे।
प्रतिवेदन प्रस्तुतिपछि आजदेखि हुने समूह छलफलका लागि पार्टीले प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाउँदै १० वटा समूह तोकेको छ । कोशी, सुदूरपश्चिम, मधेश, कर्णाली, बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहमा छलफल गर्नेछन् ।
त्यसैगरी, उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवासमा संलग्न प्रतिनिधिहरूको छुट्टै समूह बनाइएको छ ।
यस्तै, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचनालाई समेटेर अर्को समूह तोकिएको छ भने केन्द्रीय निकाय आयोजकहरूलाई सुझाव दिने मात्र उद्देश्यका लागि छुट्टै समूहमा राखिएको छ ।
यी समूहहरूले आ–आफ्नो क्षेत्र, संगठन र जिम्मेवारी अनुसार राजनीतिक, सांगठनिक र विधानसम्बन्धी प्रतिवेदनका विषयमा गहिरो छलफल गर्नेछन् । छलफलमा आएका निष्कर्षहरू आइतबारको सत्रमा प्रस्तुत भएपछि प्रतिवेदन प्रस्तोताहरूले स्पष्टीकरण दिने र त्यसपछि महाधिवेशनको निर्णयमा रूपान्तरण गर्ने तयारी गरिएको छ ।
महाधिवेशनमा आज हुने समूह छलफललाई एमाले नेतृत्वले विशेष महत्वका साथ हेरेको छ । राजनीतिक प्रतिवेदनमार्फत प्रस्तुत गरिएका मुलुकको वर्तमान राजनीतिक परिदृश्य, संघीयता, आर्थिक अवस्था र सरकार सञ्चालनका सवालमा विस्तृत बहस हुने अपेक्षा गरिएको छ ।
त्यस्तै, सांगठनिक प्रतिवेदनले पार्टीभित्रको सदस्यता विस्तार, संगठनात्मक संरचना, कमिटी गठन, प्रशिक्षण र आन्तरिक अनुशासनबारे छलफललाई केन्द्रमा राख्नेछ । विधान संशोधन प्रस्तावबारे पनि छलफल गरी निष्कर्ष निकालिने छ ।
एमालेको विधान महाधिवेशनले आन्तरिक बहसमार्फत संगठनलाई थप सुदृढ बनाउने मात्र नभई आगामी निर्वाचन र मुलुकको राजनीतिक यात्रामा निर्णायक भूमिका खेल्ने आधार तय गर्ने अनुमान गरिएको छ । यही कारण पनि प्रत्येक समूहमा हुने छलफललाई केन्द्रीय नेतृत्वले महत्वका साथ हेरेको छ ।







प्रतिक्रिया