अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले विधान महाधिवेशन: प्रतिवेदनमाथि समूहगत छलफल जारी

एमाले विधान महाधिवेशन: प्रतिवेदनमाथि समूहगत छलफल जारी


ललितपुर- नेपाल कम्युनिष्ट पार्टी एमालेको ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी रहेको छ।

प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरि छलफल शुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। उहाका अनुसार कोशी प्रदेशले समुहगत छलफल सकाएर प्रतिवेदन लेखन कार्य थालनि गरिसकेको छ।

प्रतिवेदनमाथि मधेस, वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहगत छलफल जारी छ ।

त्यसै गरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना र केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिरहेका उहाले जानकारी दिनुभयो ।
प्रचार विभाग प्रमुख गौतमले आज छलफल सकेर भोलि प्रतिवेदन समूहगत नेताले प्रस्तुतिकरण हुने बताउनु भयो। उहाले समूहगत रूपमा आएका प्रतिवेदनमाथि आएका सुझावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै बिषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान तयार पारिने जानकारी दिनुभयो । उहाँले समसामयिक प्रस्ताव पारित गरेर भोलि महाधिवेशन सम्पन्न हुने बताउनु भयो ।

महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।


यस्तै आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा। पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा। विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि शुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।