काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी एमालेको ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको समूहगत छलफल आज सकिएको छ।
प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो। अहिले १० वटै समूहको छलफल सकेर सांस्कृतिक कार्यक्रम सुरु गरिएको छ। अब प्रतिनिधिहरूले दिएको सुझावलाई भोलि बस्ने बैठकमा समूह संयोजकले प्रस्तुत गर्नेछन्।
प्रचार विभाग प्रमुख गौतमले भोलि प्रतिवेदन समूहगत नेताले प्रस्तुतिकरण हुने बताउनु भयो। उहाले समूहगत रूपमा आएका प्रतिवेदनमाथि आएका सुझावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान तयार पारिने जानकारी दिनुभयो । उहाँले समसामयिक प्रस्ताव पारित गरेर भोलि महाधिवेशन सम्पन्न हुने बताउनु भयो ।
महाधिवेशनमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि शुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ ।







प्रतिक्रिया