अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पूर्व राष्ट्रपतिलाई सदस्यता हैन, सम्मान दिऔं

पूर्व राष्ट्रपतिलाई सदस्यता हैन, सम्मान दिऔं


नेकपा एमालेका केही नेताहरुलाई अहिले नभए भरे, भरे नभए आजै भएपनि विद्यादेवी भण्डारीलाई पार्टी सदस्य नविकरण गराई पार्टी अध्यक्ष बनाउन र तत्कालै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पदमुक्त गर्नु परेको छ। नेकपाको सरकारको प्रधानमन्त्री केपी शर्मा ओली भएको बेला र त्यो बेलाको पात्र अनि कर्म उस्तै उस्तै देखिएको छ। चार जना केवल चार जना नेताहरुलाई पार्टी अध्यक्ष फेर्न मन लाग्यो फेरि दियो । यस्तो सजिलो हुन्छ ? कारण के हो ? ओलीको वर्हिगमन सिद्ध गर्नु पर्दैन ? कसको इसारामा काम भई राखेको छ ? एमालेका कार्यकर्ता टुलुटुलु हेरेर बस्छन् ? कार्यकर्तामा खुल्दुली छ ।

अहिले पार्टीले एउटा निर्देशन जारी गरेको छ । पूर्व राष्ट्रपति भण्डारी नेपालको अभिभावक हो साझा व्यक्तित्व हो, उहाँको अपमान हुने गरी कसैले नबोल्नु उहाँ सम्मानित हुनुहुन्छ, सम्मान गरौं भनेपछि कार्यकर्ताहरु मौन बसेका छन् । कार्यकर्ताहरु पार्टी अध्यक्षलाई सम्मान गर्छन्, विश्वास गर्छन्, अनि भरोसा गर्छन् । त्यही भएर त नेकपा एमाले शक्तिशाली पार्टी कायमै हुन सकेको छ । राम्रो काम गर्नेलाई मौका दिनु पर्छ जसरी नेकपा एमालेले पार्टीको उपाध्यक्ष विद्यादेवी भण्डारीलाई दुई दुई पटक राष्ट्रपति बनायो । राजनीतिमा सर्वोच्च पद भनेको पार्टीभन्दा पनि संसदीय मोर्चा नै हो । संसदीय मोर्चामा पनि राष्ट्रपति भन्दा ठूलो पद हुँदैन । राजनीतिमा सबैभन्दा ठूलो पद हासिल गर्नु भनेको राष्ट्रपति, देशको पहिलो नागरिक, सम्माननीय पद, राष्ट्रप्रमुख, राजनीतिबाट माथि अर्थात दलविहिन, राजकीय अन्य पदबाट माथि, व्यवसायिक प्रतिष्ठानबाट माथि बनाएर मात्रै राष्ट्रपति हुन पाइन्छ । राष्ट्रपति भएपछि राष्ट्रकै ठूलो र भरपर्दो सुरक्षा अंग नेपाली सेनाको पनि परमाधिपति पद दिइन्छ । अझ यसबाहेक पनि अन्य कति जिम्मेवारी हुन्छ । त्यो भनेको पदीय मर्यादा राखेको हो ।

देशले मानेको केही सम्माननीय भन्दा पनि सम्माननीय राष्ट्रपतिको अलि भिन्नै मर्यादा र संस्कार छ । कतिपय मर्यादा र संस्कारहरु संविधानमा लेखेको हुँदैन । त्यसोभए संविधानमा कानुनमा छैन भने गरे हुन्छ भन्ने बुझ्नु पर्ने हो ? विल्कुलै होइन । मर्यादाक्रमबारे केही हेरौं । अतिविशिष्ट व्यक्तिलाई ‘सम्माननीय’ भनेर सम्बोधन गर्ने भनि ‘राष्ट्रिय मर्यादा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन’मा व्यवस्थित गरिएको छ । यसमा अतिविशिष्ट व्यक्तिहरु राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्ष रहने गरी मर्यादाक्रम मिलाउन सो ऐनमा उल्लेख छ । अतिविशिष्ट व्यक्तिहरुलाई पदका अघि ‘सम्माननीय’ भनी सम्बोधन गर्नुपर्ने व्यवस्था छ । अतिविशिष्ट व्यक्तिहरुमा राष्ट्र संरक्षकहरु राष्ट्रपति र उपराष्ट्रपति, कार्यपालिकामा प्रधानमन्त्री, न्यायपालिकामा प्रधानन्यायाधीश र व्यवस्थापिकामा प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षका अगाडि सम्माननीय लेख्ने र भन्ने गरिन्छ ।

यसमध्ये राष्ट्रपति र उपराष्ट्रपति बन्ने व्यक्तिले राजनीतिक दलको आबद्धता, सरकारी वा गैरसरकारी क्षेत्रमा कुनै पद भए वा सांसद नै भए पनि राजीनामा दिनै पर्छ । यसको मतलव के हो भने ‘राष्ट्रपति र उपराष्ट्रपति कुनै पनि लोभ मोह र राजनीतिक वा अन्य पक्षधरता त्याग गरेर साझा व्यक्ति बनेर मात्रै हुन पाइन्छ’ भन्ने अर्थमा बुझ्नु पर्दछ । तर, प्रधानमन्त्री, सभामुख र राष्ट्रियसभाको अध्यक्ष बन्न त्यस्तो घेराबन्दी छैन् । प्रधानमन्त्री राजनीतिक दलको भन्दै खुलेरै काम गर्न पाउने देखिन्छ । सभामुख र राष्ट्रिसभाको अध्यक्षको हकमा दलको सदस्यता मात्रै त्याग गरिए पुग्छ । उहाँहरुले प्रतिनिधिसभा र राष्ट्रिय सभामा निश्पक्षता अंगाल्नु पर्नेछ । प्रधानन्यायाधीशको क्षेत्र झनै विशिष्ट भएको सबैलाई थाहै छ । त्यसकारण अतिविशिष्ट व्यक्तिहरुलाई पछि पनि विवाद आउनु नपरोस् अन्य पक्षधरता वा व्यापार व्यवसाय गर्नु नपरोस भनेर नै राष्ट्रपति र उपराष्ट्रपति सेवा निबृत्त भएपछि पनि सामाजिक सुरक्षा–गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सरक्षा)–सहित सेवा सुविधा प्रदान गरेको हुन्छ । यो सुविधाले के संकेत गर्छभने सम्मानित अतिविशिष्ट व्यक्तिहरुले आफ्नो मर्यादा पालन गर्न सहज होस् भन्ने हो । सम्मानित भएरै बस्नुहोस् भनेर सेवामुक्त भएपछि पनि सेवा सुविधा राज्यले दिएको हो । यति सामान्य कुरा संविधानमा लेखेको छैन । भन्न हुँदैन ।

त्यतिखेर एमालेले गरेको निर्णय गलत थियो । आफ्नो पदीय मर्यादालाई थेग्न नसक्ने व्यक्तिलाई दुई दुई पटक राष्ट्रपति बनाउनु एमालेले गलत निर्णय गरेको भनेर सिद्ध गर्नलाई हो ? उहाँ अर्थात विद्यादेवी भण्डारीले पार्टीको सदस्यता किन खोज्न्ु भएको ? उहाँ एमालेभन्दा माथि उठिसक्नु भएको छ । त्यसैले पार्टी अध्यक्ष भएपनि राष्ट्रपति भण्डारीलाई भेट्न ओली जाने गर्नु हुन्थ्यो । यति हुँदा हुँदै पनि नेपालको संविधानले तपाईलाई राजनीतिमा आउन रोक्दैन ।

अहिले नेकपा एमालेले एकै व्यक्तिलाई दुई दुई पटक राष्ट्रपति बनाउने निर्णय गर्नु गलत थियो भन्ने बनाउन खोजिएको छ । सवाल पूर्व राष्ट्रपतितिर मात्रै होइन उहाँलाई काँधमा बोकेर आफ्नो स्वार्थ सिद्ध गर्न खोज्नेहरुप्रति पनि सोझिन्छ । पार्टीले हिजो त्यो निर्णय गर्दा अध्यक्ष ओलीलाई सहयोग गर्नेहरु नै अहिले सो निर्णय गलत थियो भन्ने भाष्य स्थापित गर्न खोज्नु इतिहासको त्रुटी ठहरिने छ । त्यसकारण अहिले विवादित भएर होइन कम्तिमा पार्टीभित्र एकमना एकताका साथ राजनीतिमा आउँदा गलत नै भए पनि कार्यकर्ताहरुले साथ दिनेछन् । अहिले पार्टी अध्यक्ष विरुद्ध विरोधी कै शैलीमा अनाप सनाप बोल्न लगाएर अराजकता मच्चाउन खोज्नेहरु त झन नेतृत्व गर्न सक्दैनन् भन्ने सिद्ध हुन्छ । त्यसकारण सबै नेताहरु जिम्मेबार हुनै पर्दछ । पार्टीको बैठकमा बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष जस्तो जिम्मेबार पदमा रहनुभएका तपाई नेताहरु बैठकमा एजेण्डा आएन भनेर फेसबुकमा गिडगिडाउनु कति बौद्धिक चरित्र हो ?

केही एमाले भित्र र बाहिरका नेताहरूको पछिल्ला तीन समयको अभिव्यक्ति हेर्दा यस्तो लाग्छ कि आज देशले सामना गरिरहेको मुख्य चुनौती नै केपी शर्मा ओली हो जस्तो गरी एकपछि अर्को गर्दै नियोजित प्रचार भइरहेको देखिन्छ । एमाले सिध्याउन नदिन बाधक बनेका केपी शर्मा ओली विरुद्ध कहिले घरभित्र त कहिले घरबाहिर, कहिले देशभित्र त कहिले देश बाहिरका एकपछि अर्को गर्दै बुख्याँचाहरु खडा हुने गरेका छन् ।

जबज एमालेको सम्पत्ति हो

मदनको विचार विद्याको नेतृत्व मिल्ने भो भनेर पनि बाहिर प्रचार आएको छ । बाहिर मात्र होइन एमाले केही नेताहरुले भन्न थालेका छन् । के हो यो ? अहिले नेकपा एमालेले मार्गदर्शक सिद्धान्तको रुपमा मान्दै आएको जनताको बहुदलीय जनवाद पनि अहिलेको पार्टी नेतृत्वले संरक्षण गर्न सक्दैन रे ? त्यसकारण विद्यादेवी भण्डारी पार्टी नेतृत्वमा चाहिने रे ? कम्युनिष्ट पार्टीका नेताहरु पार्टी विरासत थाम्छु भन्नेहरु पनि पुरै बुर्जुवा शैलीमा उत्रिएको भान हुन्छ । इन्दिरा गान्धीको विरासत थाम्न राजिव गान्धी वा सोनियाँ गान्धी आएझैं गजेन्द्र नारायण सिंहको पार्टी नेपाल सदभावना पार्टी थाम्न आनन्दी देवी सिंह आएझैं जननेता मदन भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलीय जनवादको संरक्षण गर्न अब विद्यादेवी पाण्डे भण्डारी नै आउनु पर्ने ? नेकपा एमाले छैन ? कस्तो संस्कार स्थापित गर्न खोजिदैछ ? यस्ता बुर्जुवा शैली त्याग्न जरुरी छ । जनताको बहुदलीय जनवादलाई कसैले पुस्तौनी सम्पत्ति वा दाइजो ठान्नु हुन्न त्यो पार्टीको सम्पत्ति हो ? नेकपा एमाले र एमालेको बौद्धिक सम्पत्ति जोगाउन एमालेका कार्यकर्ताहरु गाउँ टोल बस्तीसम्मबाट खवरदारी गरिरहेका छन् । प्राविधिक हिसाबले कुनै कुनै भूमिकामा केही थान भण्डारीहरु बसेभन्दैमा मदन भण्डारीको विचार भण्डारी समाजमा जाने होइन । त्यसकारण के बोल्दा के हुन्छ भन्नेकुरा सबैले बुझ्न जरुरी छ ।

नेकपा एमालेका केही नेताहरुले एक दुई ठाउँमा कमरेड विद्यालाई केपी ओलीले पार्टीमा आउन छेकेर उहाँलाई अवसरबाट बञ्चित गरियो भन्न भ्याउनु भएछ । नेकपा एमालेमा सबैभन्दा बढी र महत्वपूर्ण अवसर पाउनु हुने अतिविशिष्ट व्यक्तित्वमा उहाँ पर्नु हुन्छ ।

अझै ओलीको सान्दर्भिकता बलियो छ

अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्षबाट हटाउनु खोज्नेहरु प्रष्ट कारण दिन सकेका छैनन् । नेकपा एमालेको अध्यक्ष हुन बेलाबेला कसै कसैलाई मन पर्छ । फुत्त उछिट्टिएर सामाजिक सञ्जालमा आएर म एमालेको अध्यक्ष हुन्छु भन्छन् । अनि समर्थनको पर्रा छुट्छ । पहिला त पार्टी बाहिरका अन्य पार्टीका नेताहरुले भन्ने गर्छन् । हो एमालेमा आन्तरिक लोकतन्त्रको खाँचो छ, त्यसकारण उहाँजस्तो पुरानो धेरै योगदान दिएको व्यक्ति पार्टी अध्यक्ष हुनुपर्छ भन्ने गर्छन् । अनि ए हो र छ भनेर पार्टी कै बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, स्थायी कमिटीका सदस्यलगायतले विश्लेषण गर्नु ह्ुन्छ हो रहेछ उहाँत चर्चित हुनुहुँदो रहेछ भन्न थाल्छन् ।

तर, त्यसो होइन, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जत्तिको हैसियत राख्ने, जिम्मेवारी लिने, बहुआयमिक, दूरदृष्टि राख्ने, निडर, कुटनीतिक, लोकतान्त्रिक चरित्र अँगालेका, प्रष्ट वक्ता हुनुहुन्छ । अहिलेको समसामयिक राजनीतिमा अरु राजनीतिक नेताहरुभन्दा केपी शर्मा ओली पहिलो हुनुहुन्छ । यसमा कसैले शंका गर्ने ठाउँ छैन । हालै भएको चिनको सांधाई समिटमा पनि प्रधानमन्त्री ओलीको प्रस्तुति विश्व राजनीतिमा नेतृत्व गर्ने गरिकै थियो । त्यसै भएर रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनले ओलीलाई रुस आमन्त्रणको निम्ता दिए । पुटिन कम्ति मानिसलाई मात्रै आफ्नो देश भ्रमण गराउने व्यक्तिमा पर्नु हुन्छ । नेपाल भूगोलको सानो भएर मात्रै नत्र ओली एसिया कै नेतृत्व गर्ने नेतामा पर्नु हुन्छ । ओलीको यस्तै विलक्षण गुण भएको कारण ओली विरोधीहरु ओलीको विकल्प खोजिरहेका छन् । तर, एमालेका कार्यकर्ता ओली रहुन्जेल चाहुन्जेल ओली नै अध्यक्ष हुनुपर्छ भन्ने चाहन्छन् । त्यसकारण अहिले पनि नेकपा एमाले भित्र मात्र होइन एमाले बाहिर पनि केपी शर्मा ओलीको विकल्प छैन र खोज्नु पनि हुँदैन ।

एमाले सरकारमा गएको बेला होस वा सत्ता बाहिर बसेको बेला होस एमाले जनताको आकर्षको केन्द्र बन्दै आएको छ । नेकपा सरकारमा गएको बेला सरकारबाट र पार्टीबाट अध्यक्ष ओलीलाई हटाएर पार्टी र सत्ता कब्जा गर्न खोज्नेहरु अहिले आफै सकिएर बसेका छन् । उनीहरु अझै पनि एमालेभित्र विभिन्न हर्कत गर्न खोजिरहेका छन् । एमालेजन पनि मुतको न्यानोमा रमाइरहेका छन् । जब त्यो चिसिन्छ अनि थाहा पाउनेछन् उनीहरुले सबै थोक विग्रिएछ भनेर । जस्तो अहिले कमरेड झलनाथ खनाल भन्दै हुनुहुन्छ एमालेसँग गरेको विद्रोहको औचित्य सिद्ध भएन भनेर । विद्रोह गराउन उद्धत प्रचण्डको उद्देश्य पूरा भएको छ । एमालेबाट फुस्किएको माधव कुमार नेपालको त्यो त्यान्द्रो अहिले प्रचण्डको खल्तीमा जान खोज्दैछ । त्यहाँ पुगेपछि त्यो त्यान्द्रो पनि विलाएर जानेछ ।

आफूलाई नयाँ भन्ने नीति र विधीमा हिड्ने भन्ने तर काम नीति र विधि विरोधी अभियानमा हिड्ने रास्वापाका कार्यकर्ताहरु अहिले एमालेले जे जस्तोसुकै राम्रो काम गरेपनि अनाप सनाप उकुर्जी उठाउने काममा लागेका छन् । सहकारी ठगी गर्ने अपराधमा अदालतले जेल हालेको अपराधीलाई शीरमा राखेर अध्यक्ष मान्दै हिडेका रास्वपा नेताहरु जनताको सम्पत्तिमा लुटखसोट मच्याउने रवि लामिछानेलाई राजनीतिक प्रतिशोध गरेको भन्दै अदालतको मान हानी गर्दै गलत भाष्य खडा गर्न खोजी रहेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पञ्चायत कालदेखि भएका विकृतिको चाँङ देखाएर रास्वपाको अध्यक्ष लामिछानेको अपराध चोखिने होइन । रास्वपा कही ओलीको विपक्षमा विषबमन गर्दा लामिछानेलाई गंगा पार लगाउन सकिन्छ कि भनेर लागि परेको छ । हालै चीन भ्रमणमा भएको वार्तालाई अपव्याख्या गर्दै प्रचार गर्ने माओवादी र रास्वपाका कार्यकर्ता ओलीको वार्ता नेपालको हीतमा देखिएनन् भनी प्रचार गरिरहेका छन् । यो बेला सबै पार्टीका नेता कार्यकर्ता एक मुख लागेर नेपाली भूभाग फिर्ता गर, लिपुलेक, कालापानी लिम्पियाधुरा नेपालको हो भनेर सामाजिक सञ्जालहरुमा रंग्याँउनु पर्ने उनीहरु चिनलाई सुनाएर के भो ? भारतलाई भनेर के भो ? नक्शा बनाएर मात्रै हुन्छ जमिन खोई जस्ता कुरा उठाउँदै हाम्रो दावी पुग्दैन जस्ता कुराको प्रचारमा माओवादी र रास्वपाका नेता तथा कार्यकर्ताहरु देखिएका छन् ।

स्वार्थ समूह हाबी रहुन्जेल बाम एकता असम्भव

नेकपा एमालेको नेतृत्वमा विद्या भण्डारी आउनु पर्ने कारण प्रस्तुत गर्दै केही एमालेका नेताहरुले बाम एकता हुने कम्युनिष्ट पार्टीको सरकार बन्ने तर्क अघि सारेका छन् । यो तर्क कामै नलाग्ने तर्क भएको एमाले कार्यकर्ताहरुको विश्लेषण छ । २०७४ को सहकार्य पछि हुने एकतामा प्रचण्डको त्यो हर्कत देख्दा देख्दै कुन बाम एकताको कुरा गरेको हो ? अब नेकपा एमाले सहितको बाम एकता कसैले चाहन्छभने केपी शर्मा ओलीको अध्यक्षतामा नेकपा एमालेको छत्रछायाँमा हुने बाम एकता मात्रै एमाले कार्यकर्ताले रुचाउने छन् । बाम सहकार्यको एउटा सामान्य अभ्यास गर्दा त प्रचण्ड÷माधवले नेकपाको सरकार गिराउन र एमाले कब्जा गर्न निक्कै चलखेल गरे । यदी केपी शर्मा ओली त्यो बेलाको नेतृत्वमा नरहेको भए अहिले एमालेलाई माधवहरुले प्रचण्डको पाउमा पु¥याउँथे ।

र, अन्त्यमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्ने केही एलिट वर्ग अनि पेटी बुर्जुवा वर्गमा रहेकाहरुले हो । नेकपा एमालेभित्र पनि यी वर्गका नेता कार्यकर्ताहरुको संख्या बढ्न थालेको छ । एनजीओ चलाउने, पार्टी काम नगर्ने प्रधानमन्त्री र राष्ट्रपतिको किचेन क्याविनेट पुग्ने पार्टीभित्रका सूचना हेरफेर गर्ने प्रबृत्ति नदेखिएको होइन । नेताहरुले आफ्नो सचिवालयमा राखिने मानिसले कुन वर्गको पक्षपोषण गर्छ । कार्यकर्ता र नेताको भेटघाटलाई रोकेर स्वार्थ समूहलाई पहुँचमा पु¥याउने प्रबृत्ति पनि रहेकोले बेलाबेला संरक्षितहरु नै विरोधी हुने गरेको पाइन्छ । जे भए पनि भदौं २०–२२मा हुँदै गरेको विधान अधिवेशनले पार्टी बलियो बनाउन संगठनको सबैतहलाई बलियो बनाउने हो भने कमरेड पुष्पलालले ल्याउनु भएको ३ संगठन, संघर्ष र सिद्धान्तमा श्रोत व्यवस्थापन समेत थप गरी ४ स बनाउनु पर्दछ । एमालेको सबै तहको कमिटीको बैंक खाता खोल्न सहजिकरण गर्न र लेखा प्रणालीलाई सबै कमिटीमा पु¥याउन जरुरी छ । त्यसपछि चुनाव पार्टी लड्ने प्रणलीमा लैजानु पर्दछ । विधान अधिवेशनको पूर्ण सफलताको कामना ।