काठमाडौं-नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले वर्तमान परिस्थितिको निकास संविधानको मर्मअनुरुप निष्कर्ष खोज्नुपर्ने बताउनु भएकाे छ।
आन्दोलनपछिका घटनाक्रमप्रति चिन्ता व्यक्त गर्दै संवैधानिक प्रक्रियामार्फतै समस्या समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ।
जेनजी पुस्ताका प्रतिनिधिसँग राष्ट्रपति र प्रधानसेनापतिले वार्ता गरीरहेको उल्लेख गर्दै उहाँले भन्नभएकाे छ, ‘संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै जेनजी पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्ने मलाई विश्वास छ।’
सांसद नेम्वाङले बिहीबार जारी गर्नु भएको अपिलमार्फत उहाँले सामाजिक सञ्जाल प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको ‘जेन–जी’ पुस्ताको आन्दोलनलाई ऐतिहासिक भन्नु भएको छ। भदौ २३ गते युवाहरूले उच्च जिम्मेवारीबोधसहित सुरु गरेको प्रदर्शन असाधारण र अभूतपूर्व भएको उहाँले स्मरण गर्नु भएको छ। सो प्रदर्शनमाथि भएको दमनलाई उहाँले ‘असह्य र अमानवीय’ भन्दै त्यसमा संलग्न दोषीमाथि कानुनी कारबाहीको माग गर्नु भएको छ।
सांसदनेम्वाङले भदौ २४ गते देखिएका लुटपाट, आगजनी र तोडफोडका घटनाप्रति गम्भीर चिन्ता प्रकट गर्नु भएको छ। उहाँका अनुसार ‘जेन–जी’ पुस्ताको आवरणमा भएको त्यो ताण्डवले ऐतिहासिक सम्पदा, दुर्लभ दस्ताबेज, निजी सम्पत्ति र सद्भावपूर्ण सामाजिक मूल्यलाई क्षति पुर्याएको उहाँको भनाइ छ। ‘जेन–जी पुस्ताले निर्माण गरेको अनुशासन र आचारसंहिता विपरीत भएको त्यो ताण्डव आन्दोलनकारीका काम थिएन’, उहाँले भन्नु भएको छ ।
यस्तो छ सांसद सुहाङ नेम्वाको अपील :
आदरणीय नेपाली आमावुवा, दिदीबहिनी तथा दाजुभाइहरु,
सामाजिक सञ्जाल प्रतिवन्ध तथा भ्रष्टाचारविरुद्ध ‘जेन-जी’ पुस्ताको प्रर्दशनको क्रममा आफ्नो सुन्दर र अमुल्य जिवन गुमाएका होनाहार युवाहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै सन्तान र प्रियजन वियोगको पिडामा रहनु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।
२३ भदौ २०८२ । ‘जेन–जी’ युवाहरुले जुन आर्दश, सपना र संकल्प सहित आन्दोलनको प्रारम्भ गरेका थिए । उच्च जिम्मेवारीबोध सहित युवाहरुले गरेको त्यो ऐतिहासिक प्रर्दशन असाधरण र अभूतपूर्व थियो ।
नयाँ इतिहासको रचना गर्ने गरी भएको त्यो प्रर्दशनप्रति गहिरो सम्मान मैले उतिबेला नै गरेको थिए । तर, बिडम्बना देश र आफ्नो भविष्यप्रतिको चिन्ताले केही अपिल, अनुरोध, आग्रह र आक्रोश बोकेर सडकमा आएका कलिला नानीहरू, नौजवान साथीहरू माथि बर्बर दमन भयो । त्यो सर्बथा गलत थियो ।
सुन्दर नयाँ सपना र गहिरो संकल्प बोकेर सडकमा आएका साथीहरूले आफ्नो सुन्दर जीवन गुमाउनु पर्ने दुर्भाग्यपूर्ण अवस्था आउनु हाम्रो लागि लज्जाको बिषय हो । मैले त्यही दिन भनेको छु, ‘यो हदसम्मको अपरिपक्वकता, असंयमता, विवेकहीनता, नालायकी र अमानवीयताको कारकहरु को–को हुन् ?’ निष्पक्ष छानबिन र दोषीमाथि कानुनबमोजिम कार्बाही हुनुपर्छ ।
२४ भदौ २०८२ । अघिल्लो दिनमा गरिएको बर्बर दमनको बहाना र प्रिय ‘जेन–जी’ युवाहरुको आवरणमा लुटपाट, तोडफोड र आगजनी भयो । हाम्रा ऐतिहासिक संरचना, बहुमुल्य र दुर्लभ दस्ताबेज, निजी सम्पतिहरु ध्वस्त पारियो । राजनीतिक व्यक्तित्वहरुमाथि भौतिक आक्रमण भए, घर जलाउने काम भयो ।
हाम्रा पूर्खाहरुले बचाएर ल्याएको सद्भाव र एकताको मूल्य र मान्यता भत्काउने प्रयास भयो । मुलुकलाई दशकौं पछाडि धकेल्ने गरिएको त्यो ताण्डवले हामीलाई असाध्यै गहिरो आघात परेको छ । ‘जेन–जी’ पुस्ताले नेपाली राजनीतिक आन्दोलनको इतिहासमा एउटा नयाँ अध्याय लेख्दै गर्दा जेन–जी’ पुस्तालाई नै बदनाम गर्ने गरी यसप्रकारको ताण्डव मच्चाउने उनीहरु आन्दोलनकारी थिएनन् ।
‘जेन–जी’ पुस्ता र राज्यले आफ्नो तदनुरुपको अभिलेख राखेर आफ्ना कदमहरु चाल्नेमा विश्वस्त छु । ‘जेन–जी’ पुस्ताले निर्माण गरेको आचारसंहिता, अनुशासन, मूल्य र आर्दश विपरित अकल्पनीय लुटपाट र आगजानीका घटनाहरुको उच्चस्तरीय न्यायिक समितिले छानविन गर्नेमा मलाई गहिरो विश्वास छ ।
यो घटनाक्रमपछि ‘जेन–जी’ पुस्ताका प्रतिनिधिसँग सम्माननीय राष्ट्रपतिज्यू र प्रधानसेनापतिज्यूले वार्ता गरीरहनु भएको छ । संविधानसम्मत् र लोकतान्त्रिक विधि मार्फत नै ‘जेन–जी’ पुस्ताको माग सम्बोधनको तयारी भइरहेको छ भन्ने मलाई विश्वास छ ।
आजलाई मात्रै होइन भोलीलाई समेत ध्यानमा राखेर विवेक, धैर्य र संयमका साथ अघि बढ्नु जरुरी छ । फेरी पनि, समाधान संवैधानिक बाटोबाटै अथवा आवश्यकताको सिद्धान्त प्रयोग गर्दा पनि संविधानको मर्ममा अधिकतम् क्षति नपुग्ने गरी संबिधानको मर्म अनुरुप निष्कर्ष खोज्नु नै उपयुक्त हुन्छ ।
हाम्रो अग्रज र तपाईं हाम्रो बलिदान र संघर्षबाट प्राप्त राजनीतिक तथा संवैधानिक व्यवस्थाहरुलाई भत्काउने र असफल मुलुक बनाउने अनि ‘जेन–जी’ पुस्तालाई सुन्दर भबिष्य निर्माणबाट बिमुख गर्ने प्रयासप्रति ‘जेन–जी’ पुस्ता सजग रहनुपर्छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखेर जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई सुनिश्चित गरेर आफ्नो माग सम्बोधन गरेर बढ्नु नै ‘जेन–जी’ पुस्ताले गरेको यो ऐतिहासिक आन्दोलनको सफलता हुनेछ ।
जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणाको मान्यता बचाएर सुन्दर देश निर्माण नै आन्दोलनमा मारिएका ती नौजवान साथीहरुप्रति सच्चा श्रद्धाञ्जली हुने छ।
आदरणीय अभिभावक, प्रिय साथीहरु ! अहिले चरम निराशा, हतासा, र अनिश्चितता देखिएको छ । तर हामीले इतिहासमा यसप्रकारको ठुला–ठुला अप्ठ्याराहरु पार गरेरै आएका हौं ।
मलाई लाग्छ, ‘अघिल्लो पुस्ताले अब ‘जेन–जी’ पुस्ताको भावना र शक्ति बुझेको छ ।’ मेरो पुस्ताका साथीहरुलाई भन्न चहान्छु, ‘अब हामीले आन्दोलनलाई नयाँ शिराबाट पुन: गठित गरेर अघि बढाउनुको अर्को विकल्प छैन । अब अग्रजहरुको सम्मान सहित आम पार्टी सदस्यहरुको अपनत्व हुने गरी आन्दोलनलाई पुन: गठन गरेर अघि बढौं ।
प्रिय नौजवान युवाहरु (जेन–जी) साथीहरु ! नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षा अब तपाईं हाम्रो काँधमा आएको छ ।
लोकतन्त्र र राष्ट्रिय स्वाधीनता रक्षा गरेर सुन्दर देश निर्माण गर्नुछ । आउनुहोस्, हाम्रो नाम र आवरणमा हुने सबै खालका गलत कदमहरुलाई अस्वीकार गरौं । तपाईंहरुले आन्दोलनमा जान अघि बनाउनु भएको आर्दश, मूल्य र आचारसंहिता जगमा सुन्दर भोलीको लागि अघि बढौं ।
सुहाङ नेम्बाङ
२६ भदौ २०८२







प्रतिक्रिया