काठमाडौं-मुलुकमा पछिल्ला दिनमा विकसित असामान्य राजनीतिक परिस्थितिप्रति नेकपा (एमाले) गम्भीर र संवेदनशील बनेको जनाएको छ।
पार्टी केन्द्रीय सचिवालयले जारी गरेको विज्ञप्तिमा पार्टीले २०८२ भदौ २३ गते सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचार र नातावादविरुद्ध, सुशासन लगायतका माग राखेर ‘जेन–जी’ युवाहरूद्वारा गरिएको प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति स्तब्धता व्यक्त गरेको छ।
पार्टीले जीवन गुमाएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। साथै, आफन्तको वियोगमा रहेका परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै यस घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने माग राखेको छ।
विज्ञप्तिमा २०८२ भदौ २४ गते मुलुकभर देखिएको आगजनी, तोडफोड, हिंसा र लुटपाटलाई त्रासदीपूर्ण दृश्यका रूपमा चित्रित गरिएको छ। संघीय संसद, राष्ट्रपति भवन, सिंहदरबारसहितका ऐतिहासिक संरचना, सर्वोच्च अदालत, महान्यायाधिवक्ताको कार्यालय, विभिन्न मन्त्रालय, संवैधानिक निकाय, प्रहरी कार्यालय, विमानस्थल, मिडिया हाउस, निजी सम्पत्ति, डिपार्टमेन्टल स्टोर, होटल र बैंकहरूमा भएको क्षतिले राष्ट्रलाई दशकौँ पछाडि धकेल्ने अवस्था सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ। बहुमूल्य र दुर्लभ अभिलेख तथा दस्तावेजहरू नष्ट हुनु, १३ हजारभन्दा बढी कैदीबन्दीहरू जेल तोडेर बाहिर निस्कनुले शान्ति सुरक्षामा थप चुनौती उत्पन्न भएको र कतिपय स्थानमा मानिसहरूलाई जिउँदै जलाइएकोजस्ता भयावह घटनाले राष्ट्रलाई स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यस्तो विनाशकारी घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्नुपर्नेमा पार्टीले जोड दिएको छ।
आयोजकहरूले प्रारम्भिक रूपमा आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने घोषणा गरेको र हिंसात्मक घटनामा संलग्नता नरहेको जानकारी दिएको सन्दर्भमा एमालेले यथार्थ छानबिन हुनुपर्ने, योजनाविपरीत यस्ता घटना कसरी र कसबाट गराइए भन्ने सत्य बाहिर ल्याइनुपर्ने र योजनाकार तथा दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने धारणा सार्वजनिक गरेको छ। साथै, यति ठूलो विनाश रोक्न राज्यका सुरक्षा निकायहरू किन प्रभावकारी हुन नसकेकाे भन्ने विषयमा पनि गम्भीर समीक्षा आवश्यक रहेको उल्लेख गरिएको छ।
प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै खोजिनुपर्नेमा पार्टी स्पष्ट रहेको विज्ञप्तिमा भनिएको छ। सुशासन, नातावादको अन्त्य, रोजगारी सिर्जना र तीव्र विकास जस्ता युवा पुस्ताका सरोकारलाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै यसका लागि सम्माननीय राष्ट्रपतिज्यूले संविधानको मर्मअनुरूप सार्थक संवाद प्रारम्भ गर्न र नेतृत्वदायी पहल लिनुपर्नेमा ध्यानाकर्षण गराइएको छ।
एमालेले संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहलाई लोकतन्त्रको रक्षाका लागि आ–आफ्नो स्थानबाट रचनात्मक भूमिका निर्वाह गर्न आह्वान गरेको छ। स्थानीय तहहरूले निर्वाध रूपमा सेवाप्रवाह गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै सबै संवैधानिक निकाय र राजनीतिक दलहरूलाई परस्पर संवाद र समझदारीमा आउन पनि आग्रह गरिएको छ।
विज्ञप्तिमा असामान्य परिस्थितिको लाभ उठाउँदै मुलुकका विभिन्न स्थानमा अझै पनि लुटपाट, आगजनी र तोडफोड भइरहेका उल्लेख गर्दै नागरिकको ज्यान–धनको सुरक्षा सुनिश्चित गर्न र सम्पत्तिको संरक्षण गर्न नेपाली सेना सहित सबै सुरक्षा निकायहरूको गम्भीर ध्यानाकर्षण गराइएको छ।
स्थिति सामान्य भएपछि एमालेले बैठकमार्फत समग्र अवस्थाको समीक्षा गर्ने, आवश्यक आत्मसमीक्षा गर्ने र आगामी कार्यबारे औपचारिक निर्णय गर्ने बताइएको छ।
विज्ञप्तिमा एमालेले विगतमा निरङ्कुशतन्त्र, सशस्त्र द्वन्द्व, सामाजिक विद्वेष, प्राकृतिक विपत्ति, नाकाबन्दी र महामारीजस्ता चुनौतीहरूमाथि विजय हासिल गर्दै आएको स्मरण गराउँदै आजको प्रतिकूल अवस्था पनि चिर्न सकिने विश्वास व्यक्त गरिएको छ। केन्द्रीय सचिवालयले सबै नेता–कार्यकर्ता, समर्थक, शुभेच्छुक र जनप्रतिनिधिलाई दृढ र एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै ध्वस्त भएका कार्यालय र स्थलहरूको सरसफाइमा लाग्न, सामाजिक सद्भाव कायम गर्न र जनतालाई सहयोग पुर्याउन स्वयंसेवी भूमिका निर्वाह गर्न अनुरोध गरेको छ। पार्टीले प्रतिकूल अवस्थालाई चिर्दै उच्च मनोबलसहित राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षामा दृढतापूर्वक उभिने प्रतिबद्धता जनाएको छ। ‘यतिबेला उच्च मनोबल कायम राख्नु, प्रतिकूलतालाई चिर्नु, एकताबद्ध हुनु र दृढ विश्वासका साथ अगाडि बढ्नु आवश्यक छ, राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पार्टी दृढतापूर्वक उभिने छ’, विज्ञप्तिमा उल्लेख छ।










प्रतिक्रिया