दाङ- नेकपा (नेकपा) एमालेका केन्द्रीय सदस्य तथा गायिका कोमल वलीले जेन-जी आन्दोलनको आवरणमा आफ्नो होटलमा आगजनी र तोडफोड गरेको भन्दै आपत्ति जनाउनुभएकाे छ।
उहाँकाे दाङ तुलसीपुर-६ मा सञ्चालित काेमल रिसाेर्टमा मंगलबारआगजनी र तोडफोड गरेकाे थियाे। घटनालाई नियतवश, योजनावद्ध र आपराधिक भएकाे भन्दै उहाँले आगजनी र ताेडफाेडमा संलग्नहरूलाई कहिल्यै भलो नहुने बताउनुभएकाे छ।
ओलीले भावुक शैलीमा सामाजिक सञ्जालमा लेख्नु भएकाे छ, ‘हामी बामे सर्दै थियौँ तर नियतवश मेरो पसिना, आँसु र सपना खरानी बनाइयो । मैले साथ दिएको जेन-जी आन्दोलनको आवरणमा जसरी मेरो सपना र पसिना जलाइयो, त्यो कहिल्यै क्षम्य हुने छैन।’
जेन-जी आन्दोलनका क्रममा प्राण गुमाएका विद्यार्थीहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएकाे छ। निर्दोष नानीबाबुले ज्यान गुमाउँदा आफ्नो छाती चिरिएको अनुभूति सुनाउँदै उनले दुःखका बीचमा पनि आशा नहराएको बताउनु भएकाे छ।
२० वर्षअघि रेडियो नेपालमा गीत गाएर र समाचार वाचन गरेर कमाएको पारिश्रमिकले जग्गा किनेर स्थापना गरेको होटल गाउँकै सपना भएको उहाँले स्मरण गराउनु भयाे । ‘यो होटल मेरो मात्र नभई गाउँको पसिना, आँसु र रगतसँग जोडिएको थियो । आज त्यो सपना खरानी बनाइयो,’ उनले पीडा पोख्नुभएकाे छ।
नेता ओलीले आफ्ना जीवनका संघर्षहरू सम्झिनुहुँदै, “खेलाडी र गायिका बनेर पहिचान कमाएको, गीतबाट छात्रवृत्ति पाएको, रेडियो नेपालमा १८ वर्ष सेवा गरेको र राजनीतिमा प्रवेश गरेर चार वर्ष राष्ट्रिय सभामा सांसद बनेर सेवा गरेकी छु । देशका लागि याेगदान दिएकी छु । कहिल्यै भ्रष्टाचार गरेकी छैन, कसैको चिया समेत खाएकी छैन । मेरो सम्पत्ति इमान र निष्ठा हो, यदि म भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने गोली खान तयार छु ।”
२०७९ सालको निर्वाचन जित्न नसके पनि करिब ३० हजार नागरिकको भावना जित्न सफल भएको उल्लेख गर्दै उनले दाङवासीप्रति आभार प्रकट गर्नुभयाे।
“जेन-जीको क्रान्ति भनेर मेरो होटल जलाउनु आन्दोलन हो ? ४० जनाले पाएको रोजगारी खोस्नु परिवर्तन हो ? पानी पुर्याइरहेका टाटा योद्धा र इसर ट्रक जलाउनु के युवाको उर्जा हो ?”, उहाँले प्रश्न गर्नुभएकाे छ।
जनयुद्धकाे समयमा पनि २०६१ सालमा आफ्नाे घर लुटेको, बम हानेर जलाएको र सात वर्षसम्म जग्गा कब्जा गरेको पीडा स्मरण गर्दै उनले लेखेकी छिन्, “फेरि नयाँ पुस्ताले उही गल्ती गर्याे । याे नियोजित अपराध हाे ।
“तुलसीपुरमा म जाँदाखेरि” गीत बज्दा अपराधीहरूको हात काँप्ने दाबी गर्दै उहाँले चेतावनी दिनुभएकाे छ, “यो देश बाँकी रहने छ, कानुनी शासन चल्ने छ । तिमीहरू कानूनको कठघरामा उभिनुपर्नेछ, जवाफ दिनुपर्नेछ ।”
भावुक बनेकी ओलीले अन्त्यमा लेख्नुहुन्छ, “मेरो सपना खरानी बनाउन सकिन्छ तर मेरो आत्मसम्मान र देशप्रतिको माया खरानी बनाउन सकिँदैन ।” जेन जी आन्दाेलनका क्रममा ओलीकाे “काेमल रिसाेर्ट” मा आगजनी हुँदा ध्वस्त भएकाे छ ।










प्रतिक्रिया