अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संविधानले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र उपाय हो: पूर्वराष्ट्रपति यादव

संविधानले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र उपाय हो: पूर्वराष्ट्रपति यादव


काठमाडौँ-पूर्व राष्ट्रपति डा. रामवरण यादवले वर्तमान संविधानकै सही कार्यान्वयनबाट ‘जेनजी’ पुस्ताको माग सम्बोधन गर्न सुझाव दिनुभएकाे छ।  

आज अर्थात् शुक्रवार दिउँसो पूर्वराष्ट्रपति यादवले प्रेस वक्तव्य जारी गर्दै २०८२ भदौ २३ गते सोमबार ‘जेनजी’ ब्यानरमा युवा तथा किशोर-किशोरीहरूको जुलुस प्रदर्शनको क्रममा भएको अकल्पनीय हिंसा, आगजनी, तोडफोड र लुटपाटका घटनाले सिंगो मुलुकलाई नै कम्पित एवं स्तब्ध तुल्याएको उल्लेख गरेका छन्। यस घटनाबाट व्यक्तिगत रूपमा आफू अत्यन्त दुःखी र मर्माहत भएको पूर्व राष्ट्रपति डा. यादवले जनाउनु भएकाे छ।

वक्तव्यमा पूर्वराष्ट्रपति यादवले भन्नुभएकाे छ, ‘सर्वप्रथम म उक्त जघन्य हिंसा र आगजनीमा परी अकालमा ज्यान गुमाउनु भएका भाइ–बहिनीहरूको आत्माले शान्ति पाओस् भनी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु। साथै आफ्ना होनहार सन्तान, साथी र सहपाठीलाई असमयमा गुमाउनुपर्दा शोकको पीडामा रहनुभएका दिवंगत युवाका परिवार तथा स्वजनहरूप्रति समवेदना व्यक्त गर्दै उहाँहरूलाई धैर्यधारण गर्ने शक्ति मिलोस् भनी कामना गर्दछु।’

युवाहरूको सो आन्दोलन भ्रष्टाचारको अन्त्य, पूर्णअभिव्यक्ति स्वतन्त्रता र उत्तरदायी शासन–व्यवस्था अर्थात् सुशासनजस्ता अत्यन्त स्वाभाविक र आधारभूत मागका निम्ति भएको पूर्वराष्ट्रपति यादवको ठहर छ। ‘तिनले उठाएको माग हामी जो–कोहीका पनि अभीष्ट हुन्, तर आन्दोलनका नाममा त्यस दिन र भोलिपल्ट समेत मुलुकमा जुन तहको विनाश र विध्वंश मच्चाइयो– त्यसको कारण, उद्देश्य र कर्ता समेतको वास्तविकता पहिल्याउनु आज अति जरुरी छ।’

देशको ऐतिहासिक धरोहरसमेत रहेको सिंहदरबार, शितल निवास, प्रधानमन्त्री तथा मन्त्रीका निवास एवं मन्त्रालयहरू, सर्वाेच्च अदालतदेखि जिल्ला आदालतसम्मका न्यायिक संरचना, प्रदेशसभा र मुख्यमन्त्रीका कार्यालयदेखि गाउँ र नगरपालिका तहका संरचनाहरूमा गरिएको नियोजित जस्तो देखिने भदौ २३-२४ गतेको तोडफोड र आगजनीका कृत्यहरूको यथार्थ उद्देश्य र त्यसका कारकहरू ठम्याउनु मुलुक र नेपाली समाजको अमनचयन राष्ट्रको एकता, अक्षुणता एवं सुरक्षित भविष्यका लागि समेत अपरिहार्य रहेको उहाँले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘२०६२/०६३ को जनआन्दोलन अनि नेपालको संविधान २०७२ द्वारा सिर्जित र स्थापित शासन पद्धतिलाई धुलिसात पार्ने प्रयास भएको तथ्यतर्फ पनि हामी सबैको ध्यान जानु जरूरी छ,’ पूर्वराष्ट्रपति यादवले विज्ञप्तिमा उल्लेख गरेका छन्।

पूर्वराष्ट्रपति यादवले आन्दोलनपश्चात् सिर्जित राजनीतिक–प्रशासनिक अन्योल अन्त्य गरी हरेक नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न तथा मुलुकलाई सुव्यवस्थाको बाटोमा डोर्‍याउन जिम्मेवार निकाय र पदाधिकारीहरूले अब थप विलम्ब गर्ने छैनन् भन्ने विश्वाससमेत व्यक्त गर्नुभएकाे ५।

पूर्वराष्ट्रपति यादवले विज्ञप्तिमा भनेका छन्, ‘यस आन्दोलनका क्रममा लाखौं नेपालीलाई रोजगारी दिने अनि राज्यलाई अर्बौं रुपैयाँ राजस्व तिरेर मुलुक र समाजको आर्थिक समृद्धिमा ठुलो योगदान गरिरहेका मूल्यवान औद्योगिक एवं व्यावसायिक प्रतिष्ठानहरूमा भएको तोडफोड र आगजनीले देशको अर्थतन्त्रमा दूरगामी धक्का पुर्‍याएको छ। यस्तो घातक प्रवृत्तिबाट भविष्यमा मुलुकलाई जोगाउनका निम्ति यसलाई गम्भीरतापूर्वक लिन म सबैलाई अपील गर्दछु।’

यस प्रयोजनको निम्ति नेपालको संविधान २०७२ र त्यसले प्रदान गरेको मार्गचित्रलाई पछ्याउनु नै एक मात्र निरपराध उपाय रहेको उनको भनाइ छ।