काठमाडौं-नेकपा (एमाले)का केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले हालको असामान्य परिस्थितिको समाधानका लागि तीन बुँदे रोडम्याप प्रस्तुत गर्नुभएकाे छ।
गौतमले मृत्यु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना, दोषीहरूका विरुद्ध उच्चस्तरीय न्यायिक छानबिन र कडा कारबाही, तथा राजनीतिक निकासका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान भित्रकै प्रक्रियाबाट समाधान खोजी अन्तरिम सरकार गठन गर्नु पर्ने बताउनुभएकाे छ।
तीन बुँदे रोडम्याप यसप्रकार छ-
१. यही भाद्र २३ गते जेन-जी पुस्ताले कुशासन र वेथिति विरुद्ध, सुशासन, कानुनी राज्य र सोशल मिडिया खुलाउने पक्षमा उठाएको आवाज सही र यथार्थपरक थियो। तर गृह प्रशासनतर्फबाट जबरजस्त हस्तक्षेप गरी निहत्था विद्यार्थी र युवाहरूमाथि गरिएको दमन लोकतान्त्रिक शासन व्यवस्थामा ठूलो कलंक हो। यस घटनामा मृत्यु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिन्छ।
२. तर जेन-जी पुस्ताको गौरवपूर्ण आन्दोलनको आडमा भाद्र २४ गते राज्यको सम्पत्ति, सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत सहित देशभरिका सरकारी कार्यालय, पार्टी कार्यालय, उद्योग/व्यावसायिक भवन तथा व्यक्तिका घररअफिसमा आक्रमण र आगजनी भएको छ। यसले अरूको सम्पत्ति नष्ट भएको छ। दोषीहरूका विरुद्ध उच्चस्तरीय न्यायिक छानबिन र कडा कार्यवाही आवश्यक छ।
३. जेन-जीहरूको आन्दोलनले मुलुकमा उत्पन्न असहज परिस्थितिको सामना गर्दै आन्दोलनका मागहरू सम्बोधन गर्न र उपयुक्त राजनीतिक निकासका लागि लोकतान्त्रिक गणतन्त्र र संविधान भित्रकै प्रक्रियाबाट समाधान खोजी अन्तरिम सरकार गठन गर्नु पर्छ। अन्तरिम सरकारको प्रमुख नियुक्ति संवैधानिक र लोकतान्त्रिक रूपमा वृहत सहमतिका साथ हुनुपर्छ।






प्रतिक्रिया