काठमाडौं-नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री नभएको भन्दै परिस्थितिले बाध्य बनाएको स्पष्ट पार्नुभएको छ। आइतबार सिंहदरबारमा पदभार ग्रहणपछि कर्मचारी, सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो।
प्रधानमन्त्री कार्कीले विवशतापूर्वक यो पदमा आएको बताउनुभयो। ६ महिनामा चुनाव गराएर नयाँ सरकार र मन्त्रीहरूलाई दायित्व सुम्पिने उहाँले बताउनुभयो।
‘रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो। म विवश हुनुपर्यो। सत्ताको रसास्वादन गर्न आएको होइन । ६ महिना मात्रैको अवधि बस्ने र त्योभन्दा बढी बस्दिन। ६ महिनामा आफ्नो कामकारबाही गरेर मुक्त हुने र नयाँ आउने मन्त्रीहरूलाई जिम्मेवारी र दायित्व सुम्पिने अठोट गरेका छौँ।,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई सहज र नयाँ पुस्ताको भावनाअनुसार अघि बढ्नुपर्ने पनि बताउनुभयो।
प्रधानमन्त्री कार्कीले जनेजी आन्दोलनका क्रममा मुलुकमा व्यापक जनधनको क्षति भएको भन्दै सुरक्षा निकाय, प्रहरी बिट, अदालत, सिंहदरबारसमेत आगोले जलेर नष्ट भएको बताउनुभयो। ‘जति पनि रेकर्ड र प्रमाण नष्ट भएर अर्को ठुलो समस्या भयो,’ प्रधानमन्त्री कार्कीले भन्नुभयो, ‘भौतिक भवनको क्षति बनाउन सकिन्छ तर रेकर्ड नष्ट हुँदा हामी शून्यमा छौँ।’






प्रतिक्रिया