काठमाडौं-तीन दिन अघि नियुक्त हुनु भएकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समुहले नाराबाजी गरेको छ । मध्यराती प्रधानमन्त्री निवास अगाडी गएराती सो समुहले नाराबाजी गरेको हो ।
सो समुहले गरेको नाराबाजीको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । गुरुङको समुहले मन्त्री छनौटमा आफूहरुसँग सल्लाह नै नगरिएकोमा आक्रोस व्यक्त गरेका छन् ।
नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’ ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए ।
बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भन्नुभएको छ , ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’ सुदन नेतृत्वको ‘हामी नेपाल’ समूहका युवाहरुकै प्रस्तावमा सुशीला कार्की गत शुक्रबार प्रधानमन्त्री नियुक्त हुनु भएको हो ।
प्रधानमन्त्री कार्कीलेअधिवक्ता ओम प्रकाश अर्याललाई गृह मन्त्री, पूर्वअर्थसचिव रामेश्वर खनाललाई अर्थ मन्त्री र विद्युत प्राधिकरणका पूर्व कार्यकारी प्रमुख कुलमान घिसिङलाई ऊर्जा मन्त्रीमा नियुक्त गरेको हिजो साँझ नै सार्वजनिक भएको छ ।







प्रतिक्रिया