काठमाडौँ-नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं बागमती प्रदेशका इन्चार्ज डा.राजन भट्टराईले एमालेले यस अघि पनि विभिन्न सङ्कट झेल्दै स्थापित भएकोले अब पनि चाँडै नै जनतामा पुनर्स्थापित हुने बताउनुभएको छ।
सामाजिक सञ्जालमा लेख्दै नेता भट्टराईले परिस्थितिको वस्तुनिष्ठ विश्लेषण गरेर सही निष्कर्षमा पुग्नु आजको आवश्यकता भएको भट्टराईको भनाइ छ। ‘परिस्थितिको वस्तुनिष्ठ विश्लेषण गरेर सही निष्कर्षमा पुग्नु, आवेश वा आग्रह भन्दा पर रहेर भएका कमीकमजोरीहरू सच्याउँदै भविष्यका चुनौती आजको आवश्यकता हो’, सामाजिक सञ्जालमा विगतका घटना सम्झाउँदै भट्टराईले लेख्नुभएको छ, ‘प्रतिकुलता आज मात्र आएको होइन, विगतमा पनि हामीले धेरै कठिन क्षणहरू व्यहोरेका थियौं। एक पटक विगततिर पनि फर्कौं।’

२०५० सालमा महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनामा मृत्यु, २०५४ सालमा एमालेको विभाजन, माओवादी युद्धमा करिब पाँच सय एमाले कार्यकर्ताको बलिदान, २०५९ मा राजाको ‘कु’लाई प्रतिगमन आधा सच्चिएको तर पछि शाही घोषणाले निरङ्कुशता लादिएको, २०६४ को संविधानसभा निर्वाचनमा पार्टीको सशर्मनक पराजय र २०७८ मा भएको पार्टी विभाजनलाई नेता भट्टराईले एमालेको जीवनमा आएका आँधीबेहरीको रूपमा प्रस्तुत गर्नु भएको छ।
नेता भट्टराईले विगतबाट पाठ सिकेर पार्टीप्रति बफादार कार्यकर्ता पङ्क्तिले नै पार्टी जोगाएको बताउनुभएको छ। उहाँले आजको सङ्कटमा पनि पार्टीलाई जोगाउन आम कार्यकर्तालाई आहवन गर्दै लेख्नु भएको छ, ‘आजको प्रतिकुलतामा देशभक्त, इमानदार र पार्टीप्रति बफादार कार्यकर्ता पङ्क्ति र त्यसबाट प्रशिक्षित नयाँ पुस्ता सहितले यस कठिनाइलाई पनि अवसरमा रूपान्तरण गर्दै अघि बढाउने छ।’
नेता भट्टराईले सबै कार्यकर्तालाई विचलित नभई दृढ निश्चयका साथ अगाडी बढ्न आग्रह गर्नुभएको छ।







प्रतिक्रिया