काठमाडौँ- जेनजी आन्दोलनका क्रममा गत मंगलबार वीरगन्ज महानगरपालिका कार्यालयमा अराजक समूहले गरेको तोडफोड,आगजनी र लुटपाटबाट १ अर्ब १५ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।
मंगलबार महानगरपालिका कार्यालयका सभाकक्षमा बसेको नगरपरिषदको बैठकमा प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले प्रस्तुत गरेको प्रतिवेदनमा जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट महानगरपालिकाको मुख्य भवनसहित विभिन्न संरचना जलेर नष्ट भएको र प्रारम्भिक विवरणअनुसार हालसम्म करिब १ अर्ब १५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको उल्लेख छ।
महानगरका चार वटा वडा कार्यालयहरू र केही स्वास्थ्य संस्थामा पनि तोडफोड र आगजनी गरिएको र त्यसको क्षतिको विवरण अझै संकलन भइरहेको कर्णले बताएका छन् ।
महानगरपालिका कार्यालय भवन, वडा कार्यालय र स्वास्थ्य संस्थाहरूमा गरिएको तोडफोड, आगजनी र लुटपाटबाट भएका क्षतिको पूर्ण विवरण तयार भएपछि कुल क्षतिको यथार्थ तथ्यांक सार्वजनिक गरिने कर्णले बैठकमा जानकारी गराएका छन् ।
बैठकले जेन जेडको आन्दोलन वास्तविक जेन जेडका प्रदर्शनकारीद्वारा नभई बाह्य घुसपैठमार्फत तोडफोड र आगजनी गराइएको ठहरसमेत गरेको छ।






प्रतिक्रिया