अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनका नाममा गणतन्त्र पक्षधर शक्तिलाई छानिछानि आक्रमण भयाे: प्रदीप ज्ञवाली

जेनजी आन्दोलनका नाममा गणतन्त्र पक्षधर शक्तिलाई छानिछानि आक्रमण भयाे: प्रदीप ज्ञवाली


काठमाडौं-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले असंगठित भिडसँग लड्ने कुरा निक्कै गाह्रो हुने बताउनुभएको छ।

जेनजी आन्दोलनको नाममा नेपाली कांग्रेस पार्टी कार्यालयमा भएको क्षतिको अवस्था बुझ्न मंगलबार कांग्रेसको केन्द्रीय कार्यालय सानेपा पुग्नु भएका उपमहासचिव ज्ञवालीले संगठित शक्तिसँग लड्न सजिलो हुने बताउनुभयो। उहाँले अहिले देश असाध्यै असामान्य अवस्थाबाट गुज्रिरहेको पनि स्पष्ट पार्नुभयो।

नयाँ पुस्ताको सुशासन सम्बन्धी चाहनमा कसैको पनि असहमति नभएको बताउँदै उहाँले लोकतन्त्रले शान्तिपूर्ण प्रदर्शनको छुट दिएको बताउनुभयो। शान्तिपूर्ण भनिएको भदौ २३ को प्रदर्शन कसरी अशान्त बन्न पुग्यो र गोली लागेर युवाहरूको ज्यान जाने अवस्था कसरी आयो भन्ने विषयमा छानबिन हुनुपर्ने उपमहासचिव ज्ञवालीले बताउनुभयो।

अझ २०८२ भदौ २४ गते नक्सा नै बनाएर देशैभरि आगजनी र तोडफोडका घटना भएका उपमहासचिव ज्ञवालीले बताउनुभयो। ‘गणतन्त्रका पक्षधर शक्तिलाई छानिछानी आक्रमण भयो, यो असाध्यै गम्भीर छ, असाध्यै सामान्य खालका लाग्छन् घटनाहरू’, उपमहासचिव ज्ञवालीले भन्नुभयो ।

सर्वोच्च अदालतका अपराधका फाइलहरू पहिलो प्राथमिकतामा राखेर जलाइने, कार्यालयहरूका अभिलेख जलाउने जस्ता काम सामान्य नभएका ज्ञवालीले बताउनुभयो । यो समयमा नेकपा एमाले नेपाली कांग्रेसको साथमा भएको बताउँदै नेपाली कांग्रेस धेरै उतारचढाव पार गर्दै आएको पार्टी भएकोले यो असहज अवस्था पनि पार गर्ने ज्ञवालीले विश्वास व्यक्त गर्नुभयो ।