काठमाडौं-बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले पदबाट राजीनामा दिनुभएको छ। बुधबार सभामुख पाठकले नेपालको संविधान र प्रदेशसभा नियमावली, २०७४ बमोजिम उपसभामुख अप्सरा चापागाईंसमक्ष आफ्नो राजीनामा बुझाउनु भएको हो।
सभामुख पाठकले नैतिकताका आधारमा पदमा नबसकेको बताउनुभयाे। ‘भर्खरै प्रदेशसभा भवन बनाएका थियौं। त्यो पनि २०८२ भदौ २४ गते जल्यो। यो विषम् परिस्थितिकाबीच पदमा बसिराख्न नैतिकताले दिएन,’ उहाँले भन्नुभयो।
राजीनामा पत्रमा उहाँले उक्त घटनाले आफूलाई अत्यन्त भावविह्वल बनाएको र राष्ट्र शोकमा डुबेको बेला नेपाली जनताको चाहना र युवा पुस्ताको भावना विपरीत पदमा बसिरहनु उचित नलागेको उल्लेख गरेका छन्। उहाँले राजीनामा पत्रको बोधार्थ प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रदेशसभा सचिवालयलाई पनि दिएका छन्।
पाठक राप्रपाको समानुपातिक कोटाबाट बागमती प्रदेशसभा सदस्य भएर २०७९ पुस २८ मा एमाले, माओवादी केन्द्र, राप्रपा र एकीकृत समाजवादीको सहयोगमा ६४ मत सहित सभामुख निर्वाचित भएका थिए ।








प्रतिक्रिया