नुवाकोट-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विगतका कमजोरी सच्याउँदै पार्टीलाई नयाँ ढंगले अघि बढाउने बताउनुभएको छ।
नुवाकोटमा शुक्रबार एमाले जिल्ला कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले संविधानलाई नेपाली जनताको सात दशक लामो संघर्षको दस्तावेज र राष्ट्रिय एकताको सूत्राधार भएको बताउनुभयो। संविधान बनाउँदा आन्तरिक तथा बाह्य दवाव रहे पनि सार्वभौम जनताका प्रतिनिधिमार्फत जारी गर्न सफल भएको स्मरण गर्दै उहाँले भूकम्प र नाकाबन्दी जस्ता चुनौतीपछि पनि नेपाली जनताले संविधानलाई आत्मसात गरेको उल्लेख गर्नुभयो। ‘यो संविधान धेरै प्रगतिशील छ। जारी हुदा तत्कालीन शक्ति सन्तुलनको दस्तावेज पनि हो। यसलाई समयानुकूल परिमार्जन र संशोधन गर्न सकिन्छ,’ उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘तर अहिले संविधान नै संकटमा परेको छ। संविधानले नचिनेको सरकारले चुनाव गर्ने भनेको छ, संविधान जोगाउन चुनाव अपरिहार्य हुन्छ।’

उपमहासचिव ज्ञवालीले २०८२ भदौ २३ र २४ गतेका घटनामा सुरक्षा निकायको भूमिका गम्भीर रूपमा समीक्षा र छानबिन गर्नुपर्ने बताउनुभयो। ‘सैनिक मुख्यालय नजिकै सर्वोच्च अदालत, सिंहदरबार र राष्ट्रपति कार्यालय जस्ता महत्वपूर्ण निकाय सुरक्षित राख्न नसक्ने सुरक्षा संयन्त्रले स्वतन्त्र र निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सक्छ भन्नेमा संशय पैदा भएको छ,’ उपमहासचिव ज्ञवालीलेको भनाइ थियो।
पार्टी नेतृत्व र कार्यकर्ताबीचको सम्बन्धबारे पनि उपमहासचिव ज्ञवालीले आत्मालोचनात्मक टिप्पणी गर्नुभयो। ‘हाम्रा कमजोरी हटाएर अघि बढ्छौं। कतिपय अपेक्षा पूरा गर्न नसकिएका वा गल्ती भएका हुन सक्छन्। तर अब केन्द्रीय कमिटी लगायतका फोरममा छलफल गरेर नयाँ ढंगले अघि बढ्छौं,’ उपमहासचिव ज्ञवालीले स्पष्ट पार्नुभयो।
भर्खरै पार्टी अध्यक्ष केपी शर्मा ओली सुरक्षाको घेराबाट बाहिरिएको बताउँदै उपमहासचिव ज्ञवालीले नेतृत्वमाथि विभिन्न कोणबाट प्रहार गर्ने नियोजित प्रयास भइरहेको दाबी गर्नुभयो। कार्यकर्तालाई यस्ता बहकाउमा नपर्न आग्रह गर्दै उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘हामी गम्भीर समीक्षा गरेर अघि बढ्छौं, अहिले नेतृत्वमाथि प्रहार गर्ने भाष्य निर्माण रोकिनुपर्छ।’








प्रतिक्रिया