अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जेनजी आन्दोलनका क्रममा चोरी गरेका सामग्री फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह

जेनजी आन्दोलनका क्रममा चोरी गरेका सामग्री फिर्ता गर्न उर्जा मन्त्रालयको आग्रह


काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जेनजी’को प्रदर्शनका क्रममा गएको भदौ २३ र २४ गते विभिन्न सामग्री चोरी भएकाले तत्काल फिर्ता गर्न आग्रह गरेको छ । प्रदर्शनका क्रममा तोडफोड, चारपांग्रे र दुईपांग्रे सवारीसाधनमा आगजनी गरिएको मन्त्रालयले उल्लेख गरेको छ ।

यस्तै, टेलिभिजन, कम्प्युटर सेट, ल्यापटप, प्रिन्टर, फोटोकपी मेसिन, माइक्रो ओभन, विभिन्न क्षमताका हार्डडिस्क, स्क्यानर, क्यामेरा, आइप्याड, मोबाइल, हिटर, पंखालगायत जिन्सी सामान लुटपाट एवं चोरी भएको मन्त्रालयले जनाएको छ ।

उक्त तोडफोड र चोरीमा संलग्नको सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको छ । मन्त्रालयले कोही कसैले कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गरेको भए मन्त्रालयमा वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरेको छ । अन्यथा मन्त्रालयले प्रचलित कानुनबमोजिम कारबाही हुने जनाएको छ ।

कृषि तथा पशुपन्छी मन्त्रालयले पनि ल्यापटप, सीसी क्यामेरा, कम्प्युटर, डेस्कटप, मोटरसाइकलमा जडित ब्याट्रीहरूलगायत सामग्री चोरी भएको जनाएको छ । चोरीमा संलग्नको सीसीटीभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको जनाएको छ ।

यहाँका जुनकुनै सामग्री लिएको भए तत्काल मन्त्रालय वा नजिकको प्रहरी कार्यालयमा बुझाइदिन आग्रह गरिएको छ । अन्यथा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ । रासस