चितवन-चितवनको इच्छाकामना गाउँपालिका-६ स्थित तुइनखोला भन्ने स्थानमा पहिरो खस्दा शुक्रबार साँझदेखि बन्द नारायणगढ-मुग्लिन सडक बन्द छ।
तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउन नसक्दा ३६ घण्टादेखि यात्रु, सवारीसाधन र यातायात श्रमिकहरू सडकमा बिचल्लीमा परेका छन्। सडक डिभिजन भरतपुरले ढुंगा झर्ने क्रम अझै नरोकिएकाले नारायणगढ–मुग्लिन सडक खुलाउन कठिन भइरहेको बताएको छ।
निरन्तर पहिरो खसिरहने समस्याका कारण नारायणगढ–मुग्लिन सडक खुलाउन शनिबार दिनभर गरिएको प्रयास असफल भएपछि आज (आइतबार) बिहानैदेखि डिभिजन सडक कार्यालय भरतपुरको ३ वटा मेसिनले बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ। तर अहिलेसम्म पनि पहिरो हटाएर सडक खुलाउन सकिएको छैन। माथिबाट पुनः पहिरो खसिरहेको कारणले गर्दा पनि पहिरो पन्छाउन थप चुनौती भएको हो।
आइतबार बिहान पहिरो पन्छाइरहेको भिडिओ सार्वजनिक गर्दै सडक डिभिजन भरतपुरले भनेको छ, ‘मुग्लिन-नारायणगढ सडकखण्डको तुइन पुलनजिकै गएको पहिराेका कारण सवारी आवागमन बन्द भएको सर्वविदितै छ। ढुंगा झर्ने क्रम अझसम्म पनि राेकिएकाे छैन। आज बिहानैदेखि मुग्लिन साइडतर्फ र नारायणगढ तर्फबाट मेसिन परिचालन गरि पहिरो पन्छाउने कार्य सुचारु भइसकेको जानकारी गराउछाैँ। थप पहिरो नझरे, निरन्तर रूपमा कार्य गर्दा बाधा भएन भने छिटोभन्दा छिटो सवारी आवागमन सञ्चालनमा ल्याउन कटिबद्ध रहेका छाैँ। सडक सञ्चालनमा नआउन्जेलसम्मकाे लागि कृपया धैर्य गरेर बसिदिनुहुन हार्दिक आग्रह गर्दछौँ।’
शुक्रबार बेलुका साढे छ बजेदेखि पहिरोको कारण सडकखण्ड बन्द भएको थियो । बाटो बन्द हुँदा यात्रुहरू गन्तव्यमा पुग्न नसकेर अलपत्र परेका छन्। यस सडक खण्ड भएर गुड्ने सवारीसाधन वैकल्पिक बाटो प्रयोग गर्न बाध्य भएका छन् ।
तुइन खोलादेखि भरतपुर करिब ३५ किलोमिटर र मुग्लिङदेखि नागढुङ्गासम्म करिब सय किलोमिटरसम्म सडकमा सवारीसाधन, यात्रु र मजदुरहरू अलपत्र छन्। बाटोमा फसेका हजारौँ यात्रुहरू र यातायात मजदुरहरू ठाउँ ठाउँमा समस्यामा परेका छन् । कतिपय स्थानमा यात्रुहरू र सुरक्षाकर्मीबीच वादविवाद भएको छ । सवारीसाधन र सडकमै रात गुजारेका यात्रु र मजदुरहरू खाद्यान्न र पानीको समस्यामा छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले तत्काल सबै स्रोत साधनको प्रयोग गरी पहिरो पन्छाउँदै आवागमन सुचारु गर्न सरकारसँग माग गरेका छन् ।






प्रतिक्रिया