काठमाडौँ-नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले आफ्नो अभिभावकमाथि आक्रमण हुँदा र अस्पतालमा उपचार भइरहेका बेला पार्टी भित्र सुरु गरिएको बहस जायज नभएको बताउनुभएको हो।
डा. महतले आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनका क्रममा कुटपिटबाट घाइते पार्टी सभापति शेरबहादुर देउवा उपचारमा रहेका बेला कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न गरेको प्रस्तावविरुद्ध आक्रोश पोख्नु भएको हो।
‘अभिभावकमाथि सांघातिक प्रहार हुँदा उपचार पूरा हुँदासम्म पनि पर्खन सक्दैनौ ? आकाश झरिहाल्छ’, महतले भन्नुभयो, ‘अवश्य पनि पार्टीका संरचनामा छलफल गर्छौ। घटनाको मूल्यांकन पनि गर्छौं र सुधार पनि गर्छौ।’
उहाँले यस्तो बेला नेतृत्व हस्तान्तरणको बहसले देशलाई निरन्तर अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिलाई नै मद्दत पुग्ने दाबी समेत गर्नुभएको छ।
उहाँले भन्नुभयाे, ‘त्यसका लागि पनि नपर्खने? कार्यसम्पादन समितिबाट आधिकारिक निर्णय भएको छ, त्यसभन्दा बाहिरबाट जुन छलफल थाल्नुभएको छ, त्यसले पार्टीलाई राम्रो गर्दैन।’
२०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले बुढानीलकण्ठस्थित घरमै पसेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी तथा तत्कालीन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई कुटपिट गरेका थिए। सभापतिमाथि देउवाको गर्धनमा गम्भीर चोट लागेको छ भने टाउकामा १२ टाँका लगाइएको छ।






प्रतिक्रिया