काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार जना नवनियुक्त मन्त्रीहरुले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा उहाँहरुले शपथ ग्रहण गर्नुभएको हो।
नवनियुक्त मन्त्रीहरुमा महावीर पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री, अनिलकुमार सिंहले उद्योग वाणिज्य, आपूर्ति तथा भूमिसुधार, मदन परियार कृषि तथा पशुपन्छी विकास, जगदीश खरेलले सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथ लिनुभयो।
प्रधानमन्त्री सुशीला कार्कीले चार जना मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गर्नुभएको थियो। स्वास्थ्यमन्त्रीमा डा. सङ्गीता कौशल मिश्राको नाम यसअघि सिफारिस भए पनि अन्तिममा आएर उहाँको नाम रोकिएको छ। उहाँले आज शपथ खान पाउनुभएन।
यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन्।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो। साथै समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रपति पौडेलले अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीको सिफारिसमा उहाँहरूलाई आइतबार नियुक्त गर्नुभएको हो। कानुन व्यवसायी पृष्ठभूमि रहेका मन्त्री सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुनुहुन्छ। त्यस्तै दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाउनुभएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुनुहुन्छ। यसैगरी मन्त्री परियार कृषि विज्ञ हुनुहुन्छ भने मन्त्री खरेल वरिष्ठ पत्रकार हुनुहुन्छ।
वर्तमान मन्त्रिपरिषद्मा यसअघि गत भदौ ३० गते रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास र ओमप्रकाश अर्याल गृह मन्त्रालयको जिम्मेवारीमा हुनुहुन्छ। बाँकी मन्त्रालयको कार्यभार प्रधानमन्त्री कार्कीले नै सम्हाल्नुभएको छ।
‘जेनजी’ समूहको आन्दोलन र त्यसपछि उत्पन्न विषम परिस्थितिका बीच राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश कार्कीलाई यही भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो।






प्रतिक्रिया