अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नारायणगढ-मुग्लिन सडकखण्ड: पहिरो पन्छाउन दुई दिन लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

नारायणगढ-मुग्लिन सडकखण्ड: पहिरो पन्छाउन दुई दिन लाग्ने, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह


काठमाडौँ-नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलामा खसेको पहिरो पन्छाउन दुई दिन लाग्ने जनाइएको छ। मङ्गलबार दिउँसो ४:३० बजे खसेको पहिरो आज बिहानबाट पन्छाउन थालिएको हो।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख नारायण लामिछानेका अनुसार पहिरो पन्छाउन दुई वटा लोडर, एउटा स्काभेटर र एउटा भ्याकुलोडर परिचालन गरिएको छ। दमौलीबाट अर्को एउटा स्काभेटर मगाइएको छ।

सडकको १६० मिटर भाग पहिरोले ढाकिएको छ। लामिछानेले पहिरोको तस्बिर हेर्दामाथिबाट अरु थप ठूलो पहिरो झर्ने सम्भावना कम भए तापनि माथिबाट झर्न बाँकी केही ढुङ्गाहरु पूर्ण रूपमा झरिनसकेकाले अझै साना तथा मझौला पहिरो खस्न सक्ने सम्भावना रहेको प्रमुख लामिछाने बताउनुभयाे।

वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

डिभिजन सडक कार्यालय चितवनले  तुइन खोलामा पहिरोका कारण सवारी रोकिएपछि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। कार्यालयले दिएको जानकारीअनुसार साना सवारी चितवनको जुटपानी, शक्तिखोर, मायाँटार हुँदै धादिङको मलेखु निस्किन सकिने छ। त्रिभुवन राजपथ हुँदै धादिङको नौबिसेबाट मकवानपुरको हेटौँडा निस्किन सकिने छ।

हेटौँडाबाट भैँसे, भीमफेदी, कुलेखाने, सिस्नेरी हुँदै दक्षिणकाली बाटो हलुका सवारीसाधन सञ्चालन गर्न सकिने कार्यालयले जनाएको छ। काठमाडौँतर्फ जाने ठूला सवारीसाधनका लागि पूर्वबाट कान्ति लोकपथ प्रयोग गरी हेटौँडा, गिंगन हुँदै भट्टेडाँडा हुँदै ललितपुरको सातदोबाटो निस्कन सकिने जनाइएको छ।

त्यसैगरी पोखरा जानका लागि ठूला साना दुवै सवारीसाधनले बुटवल हुँदै पोखरा जान मिल्ने जनाएको छ। कालीगण्डकी कोरिडोरको बाटो साना सवारी सञ्चालन गर्न सकिने छ। गैँडाकोटबाट तनहुँको भिमाद र पाल्पाको रामपुर जान सकिने कार्यालयले जनाएको छ।