काठमाडौँ-निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०) सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ।
आज बसेको आयोगको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको आयोगका निमित्त प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपालखबरलाई जानकारी दिनुभयाे।
आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउने गरी कात्तिक मसान्तसम्म नामावली संकलन र अद्यावधिक गरिने उहाँको भनाइ छ।
‘आगामी कार्तिक मसान्तसम्म मतादाता नामावली सङ्कलन गर्ने निर्णय भएको छ’, भण्डारीले भन्नुभयाे, ‘आगामी फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नागरिकले भोट हाल्न पाउनेछन्। आजैबाट अव मतदाता नामावली सङ्कलनका लागि सुरु भैसकेको छ।’
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले २०८२ फागुन २१ मा प्रतिनिधिसभाको निर्वाचन गर्ने म्यान्डेट पाएको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्न बाटो खोलिदिन सरकारलाई आग्रह गरेअनुसार सरकारले उक्त बाटो खोलिदिएको थियो।






प्रतिक्रिया