अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मलाई अहिले प्रहारको निशाना बनाइएको छ, के हो मेरो अपराध ? : केपी ओली

मलाई अहिले प्रहारको निशाना बनाइएको छ, के हो मेरो अपराध ? : केपी ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रतिशोधात्मक रूपमा प्रहारको निशाना बनाइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएकाे छ।

भक्तपुरको गुण्डुमा प्रेस चौतारी नेपालका पदाधीकारीसँग आज भएको छलफलमा अध्यक्ष ओलीले लोकतन्त्र र दलीय व्यवस्थाको विकल्प नभएको उल्लेख गर्नुभयो। ‘अहिले सुन्छु, मानिसहरूसँग प्रतिशोध साँध्ने कुरा भइरहेको छ। अराजनीतिक, प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिरहेको छु। यो कहाँ पुगेर रोकिने ? शान्ति हुनुपर्दैन ?’, अध्यक्ष ओलीले भन्नुभयाे।

अध्यक्ष ओलीले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गर्दै ‘के हो मेरो अपराध ? भ्रष्टाचार नगर्नु र विकासको खाका कोर्नु अपराध हो ?’ भनेर प्रश्न उठाउनुभयाे।

अध्यक्ष ओलीले प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता हुनुपर्छ भन्नेहरूले नै आफूभन्दा फरक बोल्यो भने त्यसलाई काटीकाटी र किच्याई किच्याई मार्नुपर्छ भन्ने ट्रेन्ड कसले भित्र्याएको भनेर प्रश्न गर्नुभयाे।

‘प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता हुनुपर्छ भन्ने तर आफूभन्दा फरक बोल्यो भने त्यसलाई झोले ट्रेन्ड मात्र होइन त्यसको घरमा आगो लगाउनुपर्छ भन्ने ? त्यसलाई काटीकाटी किच्याई किच्याई मार्नुपर्छ भन्ने कसले ल्याउदै छ यो सभ्यता ?’, ओलीले प्रश्न गर्नुभयाे।

अध्यक्ष ओलीले यसबारे खोजी गर्न जरुरी रहेको पनि बताउनुभयाे। ‘नयाँ पुस्ता सजग हुनुपर्छ । यो देश पुस्ताको हो’, अध्यक्ष ओलीले भन्नुभयाे, ‘म माथि प्रहारको निशाना केन्द्रित गरियो। विकासको नेतृत्व गर्नु अपराध हो ?’ उहाँले आफूले पृथकतावादको वकालत गरेकाहरूलाई मूल धारमा ल्याएको भन्दै आफूमाथि जेनजीले प्रहार नगरेको पनि बताउनुभयाे। 

अध्यक्ष ओलीले हाल देखिएको अराजनीतिक र प्रतिशोधात्मक व्यवहार देशलाई त्रासमय दिशातर्फ धकेलिरहेको उल्लेख गर्नुभयाे। जेनजी आन्दोलनमा वैध माग भए पनि हिंसात्मक तत्व मिसिएको भन्दै अध्यक्ष ओलीले गोली चलेको घटनामा निष्पक्ष छानबिनको माग गर्नुभयाे।

अध्यक्ष ओलीले भन्नुभयाे, ‘जनप्रतिनिधि संस्था जलाउने प्रवृत्ति लोकतन्त्रको लागि खतरनाक छ। सत्यतथ्य बाहिर ल्याउन छानबिन आवश्यक छ।’

अध्यक्ष ओलीले हामीले देश बचाउनु छ, देशमा सुशासन र विकास गरेर देशलाई अगाडि बढाउनुपर्ने बताउनुभयाे।