निष्पट अन्धकार रातमा एक जनाले हात्तीको कान समाते छ। उसले हात्ती नाङ्लो जस्तो हुन्छ भनेछ। अर्कोले पुच्छर समातेर हात्ती सर्पजस्तो हुन्छ भनेछ। अर्कोले दुवै जनासँग असहमति राख्दै भनेछ– हात्ती नाङ्लो जस्तो पनि हुँदैन, सर्प जस्तो पनि हुँदैन, खम्बा जस्तो हुन्छ। खासमा उसले हात्तीको खुट्टा समातेको रहेछ।
अहिले जेनजी आन्दोलनको माग यो हो भनेर अँध्यारोमा हात्ती छामे जसरी व्यक्तिपिच्छे आ-आफ्ना कुरा भन्न थालिएको छ। एक जना मानिस अन्तरवार्तामा भन्दै थिए– जेनजी आन्दोलनको माग भनेको खाएको ऋण मिनाहा हुनु हो, नेपालमा जति पनि ऋण छ, सबै मिनाहा हुनुपर्छ रे। कतिपयले जेनजीको माग प्रत्यक्ष निर्वाचित राष्ट्रपति हो भनेको सुनियो। कतिपयले बेरोजगार भत्ता जेनजीको माग हो भने। मोबाइलमा अनलिमिटेड फ्री डेटा नै जेनजीको माग हो भनेर अन्तर्वार्ता दिनेहरू पनि देखिए। जेनजीको माग यो हो भनेर व्यक्तिपिच्छे फरक-फरक कुरा आइरहेको छ। अर्थात्, अँध्यारोमा हात्ती छाम्ने काम भइरहेको छ।
अँध्यारोमा हात्ती छाम्ने काम कहिलेसम्म ? उज्यालो कहिले हुन्छ ? अहिलेको मूल प्रश्न यो हो। जेनजीको मूल माग भनेको अहिलेको अँध्यारो र कालरात्रि सकिएर छिटोभन्दा छिटो उज्यालो हुनुपर्छ भन्ने हो।
जेनजी आन्दोलनको दुरुपयोग गर्दै मुलुकलाई अँध्यारो सुरुङमा लैजान खोजिएको तथ्य प्रस्ट भइसकेको छ। आन्दोलनमा उत्रिएको इमानदार जेनजी पुस्ताले पनि आफूहरूलाई अगाडि सारेर नेपाल राष्ट्रलाई भड्खालामा जाक्न खोजिएको रहेछ भन्ने बुझिसकेका छन्। त्यसैले जेनजी आन्दोलनलाई स्पष्ट परिभाषित गर्न आवश्यक छ।

सबै कोणबाट जेनजी आन्दोलनलाई हेरेर निष्कर्षमा पुग्नु, एउटा निचोड निकाल्नु आजको आवश्यकता भएको छ। यसो गरिएन भने जेनजी आन्दोलनको उद्देश्य र माग यो थियो र उ थियो भन्दै विदेशीहरूले एजेन्डाको बिस्कुन सुकाउन थाल्ने छन्। एजेन्डाको बिस्कुन कसरी सुकाइन्छ भन्ने बुझ्न म संविधानसभाको बेलाको उदाहरण दिन्छु। संविधानसभाको बेलामा नेपालमा डरलाग्दो स्तरमा एजेन्डाको बिस्कुन सुकाइएको थियो। त्यस बेला काठमाडौंमा रहेका प्राय:जसो राजदूतावास, दर्जनौँ आइएनजीओ, ती आइएनजीओले पालेका हजारौं एनजीओहरुले संविधान यस्तो बनाऊ र उस्तो बनाऊ भन्दै नेपालमाथि आफ्नो एजेन्डा लाद्न खोजेका थिए। उनीहरूका एजेण्डाले नेपाललाई छिन्नभिन्न बनाउन खोजेको थियो। नेपालमा ठूलो रक्तपात मच्चाउन खोजिएको थियो। जेनजी आन्दोलनको माग यो हो र उ हो भन्दै अहिले फेरि विदेशीका तिनै एजेन्डालाई जागृत गराउन खोजिएको छ। त्यसैले जेनजी आन्दोलन र मागको समीक्षा हुन जरुरी छ।
लोकतान्त्रिक व्यवस्थामा आन्दोलन सामान्य हो। नेपालमा दिनहुँ विभिन्न किसिमको आन्दोलन भइरहेकै थियो। ठूलो आकारको आन्दोलन उठाएर नेपालमा अस्थिरता मच्चाउने प्रयास भइरहेकै थियो। जेनजी आन्दोलनको दुरुपयोग गरेर नेपाललाई अस्थिरता र अँध्यारोमा लैजान उनीहरू सफल भएका छन् । एक दिनको प्रयासले मात्र उनीहरू सफल भएका होइनन्, वर्षौंको प्रयासले सफल भएका हुन्। तसर्थ, जेनजीको आन्दोलनलाई वर्गीकरण गरेर हेर्नुपर्छ।
१) वास्तविक जेनजीले भ्रष्टाचार नियन्त्रणका लागि गरेको शान्तिपूर्ण आन्दोलन
२) जेनजी आन्दोलनमा घुसेर विभिन्न पार्टी र नेताहरूले आ-आफ्नो अपराध ढाकछोप गर्न गरेको आन्दोलन
३) लुटेराहरूले जेनजी आन्दोलनको मौका पारेर चलाएको लुटपाट आन्दोलन
४) जेनजीको काँधमा चढेर विदेशीहरूले नेपाललाई खरानी बनाउन गरेको आन्दोलन
५) जेनजीलाई अगाडि सारेर नेपालको संविधान, संसद्, अदालत सबैलाई समाप्त पार्न गरेको आन्दोलन
एउटै आन्दोलन भित्रका यी पाँच आन्दोलनलाई बेग्लाबेग्लै रूपमा बुझ्नुपर्छ, बेग्लाबेग्लै तरिकाले सम्बोधन गर्नुपर्छ। वास्तविक जेनजीले भ्रष्टाचार नियन्त्रणका लागि गरेको आन्दोलनलाई सबै राजनीतिक दल, विशेष गरी नेकपा एमाले र नेपाली कांग्रेसले स्वामित्वमा लिनुपर्छ। जेनजी पुस्ताको विचार र भावनालाई सम्बोधन गर्ने पार्टी भनेकै एमाले हो।
जेनजी आन्दोलनको माग भ्रष्टाचार नियन्त्रण थियो। भ्रष्टाचार नियन्त्रण नै जेनजी आन्दोलनको माग थियो भन्नेमा हरेक नेपाली सहमत हुन्छ भन्ने मेरो विश्वास छ। यो बाहेक जेनजी आन्दोलनको माग यो थियो र उ थियो भन्न थालियो भने सर्वसम्मति हुँदैन। देश खरानीमा उभिएको यो मौका छोपेर जेनजीको माग यो थियो भन्दै नेपाललाई विदेशी एजेन्डाको एम्बुसमा पार्न प्रयास भइरहेको छ। जब कुनै देश सङ्कटमा पर्छ त्यस बेला विदेशीले मौका छोप्छन्। २०७२ सालमा भूकम्पले नेपाल थिलथिलो भएको बेला विदेशीले कसरी मौका छोपेका थिए भन्ने बिर्सन हुँदैन, त्यस बेला भारतले नाकाबन्दी नै लगाएको थियो, युरोपियन युनियन र अमेरिकाले नेपालको घाँटी अँठ्याएको थियो, भुटानले समेत हामीलाई लात्ताले हानेको थियो । संविधान सभाको बेलामा नेपालमाथि लाद्न नसकिएका एजेन्डाहरूको फायल उनीहरूले दराजमा थन्काएका थिए। अहिले उनीहरू धमाधम दराज खोलिरहेका छन्।
जेनजी आन्दोलनको माग वर्तमान संविधान खारेजी हो भन्नेहरू पनि देखिएका छन्। जसरी सिंहदरबार र देशको सम्पत्ति जलाउने मानिस नेपाली मनको होइन, संविधान खारेज गर्नुपर्छ भन्ने मानिस पनि नेपाली मनको हुन सक्दैन। संविधान खारेज गरियो भने चुच्चे नक्सा खारेज हुन्छ, त्यसैले चुच्चे नक्सा भएको नेपालको म्याप प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो कार्यकक्षमा नराखेका हुन् भन्नेहरू पनि छन्। यसरी घुमाई फिराई जेनजी आन्दोलन चुच्चे नक्साको विरुद्धमा थियो भन्ने स्थापित गर्न खोजिँदै छ। भ्रष्टाचार नियन्त्रण गर्ने पवित्र मागका लागि गरिएको आन्दोलनलाई संविधान र चुच्चे नक्सा खारेजीको अपवित्र मागको एम्बुसमा पार्न खोजिँदै छ।
प्रत्यक्ष निर्वाचित कार्यकारीका लागि जेनजीको आन्दोलन भएको थियो भनेर अहिले ठूलो भ्रम फैलाइँदै छ। यस्तो भ्रामक प्रचार गर्नेहरूले के बुझ्नुपर्छ भने प्रत्यक्ष निर्वाचित कार्यकारीको विषयमा नेपालमा विगतमा आठ/नौ वर्ष लगातार, दिनहुँ बहस भएको थियो। प्रत्यक्ष निर्वाचित कार्यकारी झलक्क हेर्दा आकर्षक देखिन्छ तर त्यसले निम्त्याउने जोखिम विकराल हुन्छ भन्ने बुझेर नेपालले संसदीय प्रणाली अपनाएको हो। प्रत्यक्ष निर्वाचित कार्यकारी राख्न भारत, अमेरिका, युरोपियन युनियन, आइएनजीओहरु सबैले वर्षाैसम्म नेपालमा पैसाको खोला बगाएर अभियान चलाएका हुन्। प्रत्यक्ष निर्वाचित कार्यकारीले सिर्जना गर्ने जोखिम देखेर नै सबै पार्टीहरू त्यो एजेन्डाबाट पछाडि हटेका हुन्। प्रत्यक्ष निर्वाचित कार्यकारी जेनजी आन्दोलनको माग नै होइन, अहिले माग थियो भनेर भ्रम सिर्जना गर्न खोज्दै छन्।
एक जना बुद्धिजीवी टाइपका मानिसले जेनजी आन्दोलनको माग, मर्म र भावनाको व्याख्या गर्दै नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ समेत भने।
यसरी जेनजी आन्दोलनको माग, विचार, भावनालाई विभिन्न स्वदेशी तथा विदेशी स्वार्थ समूहहरुले आआफ्नो तरिकाले व्याख्या गर्न खोज्दैछन्। आन्दोलनमा सिंहदरबार, संसद्, अदालत र देशका अनेक संरचना जलाए। जलेको त्यो खरानीमा उभिएर अहिले नेपालको सार्वभौमिकता, स्वाभिमान, भाग्य र भविष्यलाई नै खरानी बनाउन खोज्दैछन्। यो कुरा सबैले बुझ्न जरुरी छ, जेनजी पुस्ताले बुझ्न त झनै जरुरी छ।







प्रतिक्रिया