काठमाडौँ-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशको विद्यमान समस्या समाधान गर्न राजनीतिक दलबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ।
पूर्वराष्ट्रपति भण्डारीद्वारा आज यहाँ आयोजित ‘भदौ २३ गतेको प्रदर्शन र भदौ २४ गतेको दिन घटेको विध्वंशात्मक घटनापश्चात मुलुकमा उत्पन्न परिस्थिति’ विषयक अन्तक्र्रियामा उहाँले राजनीतिक दल र विभिन्न आस्था राख्नेहरूबीच समन्वय भएर नै अहिलेको समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।
पूर्वराष्ट्रपति भण्डारीले सधैँ अहिलेको अवस्थामा मुलुक रहिरहन नसक्ने भन्दै यसको समाधान गरेर जानुपर्ने बताउनुभयो। मुलुकका शक्तिका स्रोत भनेका जनता रहेको उल्लेख गर्दै उहाँले राजनीतिक दलहरूले आफ्नो दर्शन, सिद्धान्त, नीतिअनुसार काम गरे वा नगरेको बारेमा जान्न जनतामाझ जानुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा नेकपा ९एमाले०का उपाध्यक्ष युवराज ज्ञवालीले अहिले मुलुक सङ्कटमा परेकाले राष्ट्रिय एकता आवश्यक रहेको बताउनुभयो। उहाँले निर्धारित समयमा निर्वाचन हुनुपर्नेमा जोड दिँदै सबै राजनीतिक दलले निर्वाचनमा भाग लिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ्ग रायमाझीले आफ्नो पार्टीले शुद्धीकरणको अभियान सुरु गर्ने बताउनुभयो।
कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख नीलकण्ठ उप्रेतीले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनुभयो। उहाँले द्वन्द्वमा परेका मुलुक पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा गएर आफूलाई माथि उठाएको चर्चा गर्दै नेपालमा पनि पूर्ण समानुपातिक निर्वाचन प्रणाली राम्रो हुने बताउनुभयो।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का शिक्षाध्यक्ष डा खड्ग केसीले राजनीतिक दलले आत्मसमीक्षा गर्नुपर्ने बेला आएको बताउनुभयो।
काङ्ग्रेसका नेता दीपकुमार उपाध्यायले सबै राजनीतिक दलले भ्रष्टाचारलाई शून्य सहनशीलता भन्ने आफ्नो घोषणापत्रमा उल्लेख गरे पनि त्यो पूरा नगरेकाले जेनजीहरूले भ्रष्टाचार र सुशासनको पक्षमा आन्दोलन गर्दा अहिलेको अवस्था आएको बताउनुभयो । उहाँले सबै राजनीतिक दलका असल नेताहरू एक ठाउँमा आएर मुलुक बचाउनुपर्ने बताउनुभयो।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माले प्रहरीको मनोबल उकासेर मात्र निर्वाचनमा जानुपर्ने बताउनुभयो। वरिष्ठ पत्रकार कनकमणि दीक्षितले भदौ २३ र २४ गतेको घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने बताउनुभयो। वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले मुलुकको अहिलेको सङ्कट सामाधान गर्नका लागि सर्वपक्षीय सहमति आवश्यक रहेको बताउनुभयो।






प्रतिक्रिया