काठमाडौं-शिक्षा विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आइतबार (असोज १२ गते) सम्म शिक्षकहरूलाई तलब नदिने विद्यालयका प्रधानाध्यापकलाई नियमअनुसार कारबाही गर्ने चेतावनी दिनुभएकाे छ।
मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै दसैँ-तिहारका बेला तलब निकासा नभएको भन्दै शिक्षकहरूबाट व्यापक गुनासो आइरहेकाले आइतबारसम्म उपलब्ध गराउन निर्देशन दिनुभएकाे हाे।
शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठासकेको जानकारी दिँदै आइतबारसम्म शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध नगराए सम्बन्धित प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिने मन्त्री पुनले चेतावनी दिनुभएकाे हाे ।
दसैँ तिहारजस्तो ठूलो चाडपर्वमा शिक्षकहरूलाई तलब नदिएर मानसिक तनावमा पार्नु दुखद भएको उहाँको भनाइ छ।
मन्त्री पुनले भन्नुभएकाे छ, ‘तलब नख्वाउने प्रअहरूलाई सूचना- दसैँ-तिहारको अवसरमा विद्यालय व्यवस्थापन समितिले र प्रधानाध्यापकले तलब निकासा गरिदिएन भनेर धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयबाट तलब पहिले नै विद्यालयहरूमा पठाइसकेको छ। भोलि सम्ममा कुनै नाजायज र अन्यायपूर्ण तरिकाले तलब नपाएको शिक्षकहरूको तलब निकास नगरेमा त्यस्ता विद्यालयका प्रधानाध्यापकलाई नियमानुसार कारबाही गरिनेछ।’







प्रतिक्रिया