काठमाडौँ-नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले वर्तमान सरकारले पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको राहदानी रोक्ने निर्णय गरेकोमा गम्भीर आपत्ति प्रकट गरेको छ।
युवा संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त निर्णयलाई विशुद्ध राजनीतिक प्रतिशोध र पूर्वाग्रहमा आधारित रहेको आरोप लगाएको हाे।
युवा संघले वक्तव्यमा भनिएको छ, ‘पूर्वप्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिको राहदानी रोक्नु सरकारले प्रतिशोधको राजनीति गर्न खोजेको स्पष्ट संकेत हो, जुन लोकतन्त्रका मूल्य–मान्यताविपरीत छ।’
छानबिन नै नगरी कसैलाई अपराधी करार गर्ने गरी गम्भीर प्रकृतिको निर्णय गर्नु आपत्तिजनक रहेको संघका अध्यक्ष क्षितिज थेवेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
युवा संघले यो घटनालाई पूर्व प्रधानमन्त्रीको सम्पूर्ण जीवन देश र नेपाली जनताको हितमा समर्पित भएको तथ्यलाई समेत उपेक्षा गर्दै गरिएको अराजनीतिक कार्यका रूपमा लिएको छ ।
यसै सन्दर्भमा युवा संघले गृह मन्त्रालयले गत भाद्र २४ गतेको विध्वंसकारी गतिविधिमा संलग्न हुनेहरूलाई नियमित कानुनी कारबाही नचलाउने भनी गरेको निर्णयप्रति पनि कडा आलोचना गरेको हो । संघले गृह मन्त्रालयको सो निर्णय अत्यन्तै दुखद् र निन्दनीय रहेको र यसले कानुनी राज्यको उपहास गरेको ठहर गरेको छ ।
युवा संघले सरकारलाई मुलुकलाई लोकतान्त्रिक बाटोमा डोर्याउनुको सट्टा अनावश्यक रूपमा राजनीतिक प्रतिशोध र पूर्वाग्रहमा अल्झिएको आरोप लगाएको छ । संघले जेएन जेडी लगायतका युवा आन्दोलनका मागहरूप्रति सचेत रहेको जनाउँदै सरकारको मुख्य जिम्मेवारी शान्तिपूर्ण, निष्पक्ष र भरपर्दो आम चुनाव गराउनु रहेकोमा जोड दिएको छ । अनावश्यक राजनीतिक प्रतिशोधको बाटो नलाग्न युवा संघले सरकारलाई सचेत गराएको छ ।








प्रतिक्रिया