अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

छानबिन आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि नै छानबिन हुनुपर्छ: हिक्मत कार्की

छानबिन आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि नै छानबिन हुनुपर्छ: हिक्मत कार्की


विराटनगर-काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले २०८२ भदौ २३ र २४ गतेको ‘जेन–जेड’ विरोध प्रदर्शनका क्रममा भएको क्षतिका बारे छानबिन गर्न गठित न्यायिक जाँचबुझ आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि नै छानबिन हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

विशेष अदालतका पूर्व अध्यक्षसमेत रहनुभएका कार्कीले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत गर्नुभएको करिब आधा दर्जन ट्विटहरूले उहाँ सो घटनामा प्रत्यक्ष वा परोक्ष रूपमा संलग्न रहेको देखिने भएकोले उहाँमाथि नै अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उहाँको माग छ। ‘भाद्र २३ गते जेन-जेड विरोध प्रदर्शनका क्रममा भएको दमनबाट भएको मानवीय क्षतिको छानबिन गर्न गठित न्यायिक छानबिन आयोगका प्रमुख विशेष अदालतका पूर्वअध्यक्ष एवं पूर्वन्यायाधीश गौरीबहादुर कार्की माथि नै छानबिन गर्नु पर्ने देखियो । गत २०२५ सेप्टेम्बर ९ तारिखमा उनै कार्कीले गरेका सोसल साइट “एक्स ” मा करिब आधा दर्जन टुईटले उनी पूर्ण रूपमा उक्त घटाउन जिम्मेवार छन् भन्ने देखिन्छ। त्यस कारण उनी माथि छानबिन र कानुनी दायरामा ल्याउनु पर्ने देखिन्छ। तसर्थ यो आयोगले न्यायिक छानबिन गर्न सक्दैन भन्ने कुरा स्वतः स्थापित हुन्छ, त्यस कारण उनलाई आयोगको संयोजकबाट मुक्त गरी उनी माथि अनुसन्धान अघि बढाउनु पर्दछ’, कार्कीले लेख्नु भएको छ ।

मुख्यमन्त्री कार्कीले कार्कीको संयोजकत्वमा बनेको आयोगबाट निष्पक्ष र विश्वासिलो न्यायिक छानबिन सम्भव नहुने उहाँको दाबी छ ।

त्यस्तै असोज ९ गते गृह मन्त्रालयका प्रवक्ताद्वारा जारी गरिएको विज्ञप्तिप्रति समेत मुख्यमन्त्री कार्कीले गम्भीर आपत्ति जनाउनुभएको छ। ‘यदि सो विज्ञप्ति सत्य हो भने यसले प्रहरी प्रशासनको मनोबल घटाउने मात्र होइन, हाम्रो समाजमा भय, अराजकता र उद्दण्डतालाई प्रोत्साहन गर्ने देखिन्छ,’ उहाँले उल्लेख गर्नुभएको छ।

विज्ञप्ति गृहमन्त्रीकै निर्देशनमा आएको हो भने उहाँलाई तत्काल बरखास्त गर्नु पर्ने उहाँको माग छ । ‘गृह मन्त्रीजीको निर्देशन हो भने उहाँलाई तत्काल पदबाट बर्खास्त गर्दै कानुनको दायरामा ल्याइनु पर्दछ, हैन मन्त्रीजीको निर्देशन होइन भने उक्त आदेश दिने माथि अविलम्ब कानुनी कारबाही गरिनु पर्दछ’, उहाँको माग छ ।

मुख्यमन्त्री कार्कीले घटनामा संलग्न जोसुकैलाई पनि कानुनको कठघरामा उभ्याइनुपर्नेमा जोड दिनुभएको छ।