अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध

आवश्यक जनशक्ति तथा औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयको अनुरोध


काठमाडौं-स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक जनशक्ति तथा औषधि सामग्री तयारी अवस्थामा राखी आकस्मिक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न सबै अस्पताल एवं स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ।

शनिबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकीले आवश्यक परेमा सङ्घीय तथा प्रदेशस्तरका स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा सम्पर्क गरी आवश्यक सहजीकरण र व्यवस्थापन गर्न अनुरोध गरेका छन् । बिरामी स्थानान्तरण तथा रेफरल सेवाहरूलाई सहज र प्रभावकारी बनाउन, एम्बुलेन्स सेवाको समन्वय र सञ्चालनलाई प्रभावकारी बनाउन पनि मन्त्रालयले अनुरोध गरेको छ ।

निरन्तर वर्षाका कारण बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोप उत्पन्न भई दुर्घटना, चोटपटक एवं जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन मन्त्रालयले भनेको छ ।

मन्त्रालयले कुनै जानकारी तथा सहयोगका लागि सङ्घीय स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्र, प्रादेशिक स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका अतिरिक्त मन्त्रालयको निःशुल्क हेल्पलाइन नम्बर १११५ मा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।