काठमाडौं– सरकार आफ्नो पौरख देखाउन कति हतार छ भन्ने एउटा उदाहरणबाटै काफी छ । ईलाममा मात्र ३८जना सहित ४९जनाको ज्यान गएको खबर आइरहँदा मन्त्री कुलमान घिसिङ सिंहदरबारमा सरकारको सावधानीले कसैको पनि ज्यान नगएको झुटको पुलिन्दा बाँडिरहनु भएको थियोे ।
शुक्रबारदेखि शनिबार बिहानसम्म परेको वर्षाले काठमाडौं तथा आसपासमा जिल्लाहरूमा ठूलो क्षति गरेन । गत वर्षभन्दा कम पानी परेकाे,गतवर्षको क्षतिबाट पाठ सिक्दै अघिल्लो सरकारले विपद् पूर्व तयारीको व्यवस्थापन गरेका कारण पूर्वआंकलन गरिएजस्तो क्षति भएन ।
काठमाडौं र नारायणगढमा सवारी बन्द गरिए पनि पृथ्वी राजमार्गमा पहिरोको जोखिम भएन । फाटफुट सवारी चलिनै रहेका थिए ।
आइतबार बिहानदेखि बागमती प्रदेशमा पानी पर्न रोकिएका कारण जनजीवन सामान्य भयो । पानी पार्ने प्रणाली मध्यबाट पूर्वतिर सर्दै गएका कारण काठमाडौंमा वर्षा रोकिए पनि मधेस र कोशी प्रदेशमा बाढी पहिरोले नराम्ररी प्रभावित गरेको छ ।
मधेस र कोशी प्रदेशमा बाढीले प्रभावित गरिरहँदा मूलधारका सञ्चार माध्यममा सरकारले पूर्वतयारीका कारण क्षति हुन नपाएको समाचार प्रसारण गरे । आफू अनुकूल मिडिया परिचालनमा अब्बल मानिने भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले पत्रकार सम्मेलन नै गरेर ‘सेलिब्रेसन’ गर्न भ्याए ।
घिसिङको पत्रकार सम्मेलन नसकिँदै प्रहरीले देशका विभिन्न स्थानमा निरन्तरको वर्षापछि उत्पन्न पहिरो, चट्याङ र खोला बाढीका घटनामा परी कम्तीमा ४४ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरेको छ । कोशी र मधेसका खोला तटीय क्षेत्रमा डुबान यथावत् रहेको छ । मानवीय क्षतिसम्बन्धी यो तथ्याङ्क आज साँझसम्म ५३जनाको ज्यान गएको खबर सार्वजनिक भएको छ ।
सबैभन्दा बढी मानवीय क्षति इलाममा भएको छ, जहाँ पहिरोमा परेर ३७ जनाको मृत्यु भएको छ। पाँचथरमा २ जनाको ज्यान गएको छ, जसमा १ जनाको मृत्यु पहिरोमा परेर र अर्को खोलाले बगाएर भएको हो। खोटाङमा खोलाले बगाएर १ जनाको, उदयपुरमा खोलाले बगाएर १ जनाको र रौतहटमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ। त्यस्तै रसुवामा खोलाले बगाएर ४ जनाको र इलाममा थप १ जनाको पहिरोमा परेर मृत्यु भएको पुष्टि भएको छ।
घटनामा १६ जना घाइते भएका छन्। इलाममा पहिरोमा परेर ८ जना, पाँचथरमा १ जना, भोजपुरमा चट्याङ लागेर ३ जना, खोटाङमा चट्याङ लागेर ३ जना र मकवानपुरमा चट्याङ लागेर १ जना घाइते भएका छन्।
यसैबीच, इलामको माङसेबुङ १ बाट पहिरोमा परेका २ जनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ।
निरन्तर वर्षाका कारण पहिरो र बाढीको जोखिम अझै कायम रहेका बेला मन्त्रीको उपलब्धि सुनाउने लोभको आलोचना हुन थालेको छ ।







प्रतिक्रिया