अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारकै योजनामा ‘केपी ओली अरेस्ट’ अभियान थालिएको खुलासा

सरकारकै योजनामा ‘केपी ओली अरेस्ट’ अभियान थालिएको खुलासा


काठमाडौं – अन्तरिम सरकारका केही मन्त्रीहरूको सल्लाह र निर्देशनमा जेनजी अभियानले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गर्ने उद्देश्यले सामाजिक सञ्जालमा अभियान सुरु गरेको खुलासा भएको छ ।

केही दिनअघि अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको अनुपस्थितिमा मन्त्रीहरूको विशेष बैठक बसेको थियो । बैठकमा जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न समूहका प्रतिनिधिहरूलाई बोलाएर छलफल गरिएको थियो । छलफलका क्रममा अभियन्ताहरूले भदौ २३ गतेको शान्तिपूर्ण आन्दोलनका क्रममा २१ जना विद्यार्थी र युवाको ज्यान गएको घटनाको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकले लिनुपर्ने भन्दै अडान लिएका थिए ।

अभियन्ताहरूले उनीहरूलाई तुरुन्तै पक्राउ गरी हिरासतमा राखेर न्यायिक छानबिन सुरु गर्न सरकारलाई माग गरेका थिए । सोही बैठकमा जेनजी अभियानका एक प्रमुख अगुवा सुदन गुरुङले सरकार उक्त विषयमा बेवास्ता गरिरहे अर्को चरणको आन्दोलन सुरु गर्ने चेतावनी दिएका थिए ।

स्रोतका अनुसार, मन्त्रीहरूले त्यसबेला ओली र लेखकलाई तत्काल पक्राउ गर्न कानूनी चुनौती र प्रक्रियागत जटिलता रहेको कुरा अभियानकर्ताहरूलाई बताएका थिए । तर साथसाथै, मन्त्रीहरूले नै जेनजी अभियानलाई सुझाव दिँदै भनेका थिए — “तपाईंहरूले सामाजिक सञ्जालमा दबाब अभियान सुरु गर्नुस् । भोलि त्यही जनदबाबलाई आधार मानेर सरकारले पक्राउ प्रक्रिया अगाडि बढाउन सजिलो हुनेछ ।”

यही सुझावका आधारमा, सुदन गुरुङ नेतृत्वको समूहले सामाजिक सञ्जालमा व्यापक अभियान सुरु गरेको बताइन्छ । केही अभियन्ताहरूले “अरेस्ट केपी ओली” भन्ने छुट्टै ह्यासट्याग प्रयोग गरी अभियानलाई फराकिलो बनाएका छन् ।

जेनजी अभियानका नेताहरूले यो सामाजिक दबाबले सरकारलाई कदम चाल्न बाध्य पार्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूका अनुसार, यो अभियान सरकारलाई ‘जनताको आवाज’ देखाउने र पक्राउका लागि वातावरण तयार गर्ने रणनीतिक भाग हो ।

एक अभियन्ताले भनेका छन्, “आजदेखि हाम्रो अभियान तीव्र भएको छ । यसले देशभर एउटा माहौल बनाउँछ । त्यसपछि सरकारले ओली र लेखकलाई पक्राउ गर्ने हाम्रो बुझाइ हो ।”

स्रोतका अनुसार, यो सबै योजना अन्तरिम सरकारकै केही मन्त्रीहरूको सल्लाहअनुसार तय गरिएको हो । जसअनुसार, अभियानको प्रभावलाई ‘जनदबाब’को रूपमा प्रयोग गरी सरकारलाई पक्राउ प्रक्रियामा सहज बनाउने योजना अघि बढाइएको बताइन्छ ।