अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालेन र सुदनविरूद्ध एमालेनिकट अखिलले दियो जाहेरी

बालेन र सुदनविरूद्ध एमालेनिकट अखिलले दियो जाहेरी

२४ घण्टामा जानकारी दिने प्रहरीको जवाफ


काठमाडौं-काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) र हामी नेपालका संस्थापक तथा जेनजी अभियन्ता सुदन गुरुङलाई कारबाहीको माग गर्दै एमाले निकट अनेरास्ववियुले प्रहरीमा निवेदन दिएको छ।

अनेरास्ववियुका महासचिव दीपक धामी र पूर्वअध्यक्ष समिक बडालले प्रहरीलाई जाहेरी दिनुभएकाे हाे। तर सरकारी वकिल कार्यालयसँग छलफल गरेर थप निर्णय लिने प्रहरीले जवाफ दिएको बडालले बताउनुभयाे। ‘जाहेरी प्रहरी कार्यालयमा छोडेको छौँ। २४ घण्टा भित्र जाहेरी दर्ता भएन भने थप न्यायिक निरुपणमा लागि अगाडि बढ्छौं,’ बडालले प्रहरी परिसरबाट भन्नुभयाे। 

प्रहरीले सरकारी वकिलसँगको सल्लाहपछि दर्ता गर्ने कि नगर्ने निर्णय गर्ने जवाफ अखिलका नेताहरुलाई दिएको छ। महासचिव दीपक धामीको नेतृत्वमा पुगेको टोलीले राष्ट्रिय धरोहरमा आगजनी गर्ने र दण्डहीनतालाई प्रश्रय दिने काम भइरहेको बताउँदै तत्काल कानुनी दायरामा ल्याउन माग गरेको छ ।

यस्तै महासचिव धामीले पछिल्ला दिनहरूमा भएका घटनाप्रति अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण गराएको बताउनुभयाे।

‘अराजकता मच्चाउने काम भएको छ। धरोहर जलाउने काम भएको छ। हाम्रो देशको शान्तिको प्रतीकलाई विध्वंश गर्ने काम भएको छ,’ महासचिव धामीले भन्नभयाे, ‘उनीहरुलाई कानुनी कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग रहेको छ।’

“देश खरानी बनाइएको छ,” धामीले भन्नभयाे, “सुरुका दिनदेखि संविधानमाथि जसरी धाबा बोल्न खोजियो । हाम्रो पुस्ताको साथीहरुमाथि गोली लागेको छ । त्यसको पनि कानुनी उपचार खोजिनुपर्छ । दोषीलाई कारबाही गरिनुपर्छ । तर सम्पदामाथि आगजनी गर्ने, दिनदहाडै ज्यान लिने । सिंहदरबार छिरेर अनधिकृत व्यक्तिले हुकुमी शासन चलाउन पाइँदैन । कारबाहीको दायरामा ल्याउनैपर्छ ।”

प्रहरीले २४ घण्टाभित्र जाहेरी दर्ता नगरे त्यसपछि थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने र कानुनी उपचारको खोजीमा लाग्ने अखिलका पूर्वअध्यक्ष समीक बडालले जानकारी दिनुभयाे।

‘सरकारी वकिलसँग सल्लाह गरेर उजुरी दर्ताको विषयमा २४ घन्टाभित्र जानकारी दिन्छु भनेर उहाँहरूले भन्नुभएको छ, त्यसबेलासम्म हामी कुर्छौं। उजुरी दर्ता नगरे अदालतलगायत ठाउँमा जान्छौं,’ उहाँले भन्नुभयाे।