भक्तपुर- नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गृहमन्त्रीले राज्य चलाउन कि अपराधीको संरक्षण गर्न खोजेको भन्ने स्पष्ट नभएको बताउनुभएको छ।
नेकपा एमाले भक्तपुरले गुण्डुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले गृहमन्त्रीले प्रतिशोधको राजनीति गरेको र अपराधीको पक्षमा ढाल बनेर उभिएको बताउनुभएको छ। ‘अहिलेका गृहमन्त्री राज्यको नेतृत्व गर्दैछन् कि अपराधिक समुहको संरक्षण ?’ महासचिव पोखरेलले भन्नुभयो ‘गृहमन्त्री जेलबाट भागेका अपराधी पक्राउ गर्न रोक्छन्। लुटपाट र हत्यामा संलग्नलाई संरक्षण गर्दछन्। यस्ता व्यक्तिबाट कसरी देशको गृहमन्त्रालय सञ्चालन हुन्छ ? शान्ती सुरक्षा कसरी कायम हुन्छ ?’
गृहमन्त्रीले प्रहरीको मनोबल उठाउने भन्दा गिराउने काम गरिरहेको बताउनुभयो ।
महासचिव पोखरेल प्रधानमन्त्री सुशीला कार्की नै संविधान विपरित प्रधानमन्त्री भएको दाबी गर्दै दलहरुको सहमतिमा संविधान संसोधन गरेर उहाँलाई नै प्रधानमन्त्री बनाउन दलहरु तयार रहेको बताउनुभयो । ‘मुलुकमा उत्पन्न परिस्थितीका कारण उहाँको नियुक्तीलाई हामीले मौनता साध्यौं तर उहाँ प्रतिशोधपूर्ण ढंगले अघि बढ्न खोज्नु भएको छ । ’
महासचिव पोखरेलले वर्तमान सरकारको मुख्य कार्यभार निर्वाचन भएको उल्लेख गर्नुभयो । उहाँले देशमा सुरक्षाको प्रत्याभुति नदिलाई,प्रहरीको मनोबल नउठाइ,लुटिएका हतियार फिर्ता नगराई निष्पक्ष निर्वाचन हुन नसक्ने बताउनुभयो । ‘सरकार दलहरुसँग संवाद,छलफल नगरी निर्वाचनको नाटक गर्दैछ’ महासचिव पोखरेलले भन्नुुभयो ‘असोज १८ पछि ज्ञानेन्द्रले पनि यस्तै चुनावको नाटक मञ्चन गरेका थिए । तर त्यसले बैद्यता पाएन । अहिलेको सरकारले गर्ने निर्वाचन पनि त्यही बाटोमा जाने खतरा छ ।’







प्रतिक्रिया