अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रोब्सपियर, जेलन्स्की र नेपालीले बन्नुपर्ने बकुल्ला

रोब्सपियर, जेलन्स्की र नेपालीले बन्नुपर्ने बकुल्ला


अहिले नेपालमा आतङ्कको राज्य छ। कोही सुरक्षित छैन। सारा जनता कति बेला के हुने हो भनेर आतङ्कित छन्। शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरी प्रशासन निरीह छ। कतिसम्म भने सडक व्यवस्थापनको जिम्मेवारी पाएको ट्राफिक प्रहरी समेत सुरक्षित छैन। ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीलाई कथित डनहरूले दुर्व्यवहार गरेको भिडियो हाम्रा लागि सामान्य हुन थालेका छन्। भदौ २४ गतेको आगो निभ्यो तर आतङ्क झन् चर्किएको छ। संविधान कानुन सबै भत्काउनुपर्छ भन्ने समूहहरूलाई सरकारले नै प्रोत्साहन गरिरहेको छ।

फ्रान्समा सन् १७८९ मा क्रान्ति भयो। क्रान्तिपछि त्यहाँ यति आतङ्कको वातावरण सिर्जना गरियो कि त्यसपछिको कालखण्डलाई आतङ्कको राज्य भनिन्छ। आतङ्कको राज्यको नेतृत्व म्याक्सिमिलियन रोब्सपियरले गरेका थिए। उनले मान्छे मार्न एउटा यन्त्र नै बनाएका थिए। त्यो यन्त्र थियो गिलोटिन। गिलोटिनमा झुन्डाएर १७ हजार मानिस मारिएको थियो। यो सङ्ख्या औपचारिक तथ्याङ्क हो। रोब्सपियरले लाखौँ मानिस मारेका थिए। 

फ्रान्सको क्रान्तिमा रोब्सपियरले नेतृत्व गरेका थिए । क्रान्तिबाट सत्ता हातमा आएपछि उनको रुप फेरियो। उनी लुसिफर बने। जनता राजा कसैलाई बाँकी राखेनन्। राजा लुई सोह्रौं र रानी मेरी एन्टोनियोलाई पनि गिलोटिनमा झुण्डाएर मारे। फ्रेन्च जनताले आज रोब्सपियरलाई लुसिफरका रुपमा सम्झन्छन्। नेपालमा पनि लुसिफर र रोब्सपियरहरु पैदा हुने खतरा बढेको छ। नियम कानुन संविधान र नैतिकता केही पनि नमान्ने, प्रथा पद्धति र परम्परा केही पनि नमान्ने जमात बढिरहेको छ। रोब्सपियरले गिलोटिन प्रयोग गरेर मान्छे मार्थे, नेपालमा साइबर सञ्जाल प्रयोग गरेर मानिसलाई मरेतुल्य बनाइँदैछ। जसलाई जे आरोप लगाइदिए पनि भएको छ। जसको पनि चरित्र हत्या गर्न पाइएको छ । असहमत विचारलाई निषेध गर्ने जमात बढिरहेको छ।

याद गर्नुहोस्, रोब्सपियर पनि फ्रान्समा हिरो थियो, हिरोभित्रको भिलेन फ्रान्सेली जनताले चिन्न सकेनन्, त्यसैले फ्रान्सेली जनताले ठूलो दु:ख पाए। नेपाली समाजमा पनि साइबर लोकप्रियताको आडमा लुसिफर र रोब्सपियरहरु पैदा हुने खतरा बढिरहेको छ। यसमा सबैले होसियार हुनुपर्ने बेला आएको छ।

कुरा त मैले नेपालको गर्न खोजेको हुँ तर फ्रान्सको उदाहरण दिएँ। फ्रान्सको कुरा गर्दा मलाई जर्मनीको याद आयो। जर्मनीको हिटलरको नाम नसुन्ने मानिस शायदै होला। हिटलर यति लोकप्रिय थिए कि उनको भाषण सुन्न लाखौं मानिस ओइरिन्थे। देश बनाउने घटीको कुरै गर्दैनथे, देशका लागि मर्न तयार छु भन्थे, मैले जस्तो विकास कसैले गर्न सक्दैन भन्थे। सोझा जर्मन जनताले पत्याए । शासन सत्ता हातमा आएपछि हिटलरले लुसिफर रुप देखाउन थाले। हिटलरले युरोपमा करोडौं मानिस मारे। लोकप्रियताको आडमा तानाशाह हिटलरको जन्म भयो। नेपाली समाजले यो कुरा बुझ्नुपर्छ।

फ्रान्स र जर्मनीपछि मलाई युक्रेनको कुरा गर्न मन लाग्यो। युक्रेनका अहिलेका राष्ट्रपति भोलोदोमिर जेलेन्सीको नाम हामी सबैले सुनेका छौं। जेलेन्स्की मीठो कुरा गर्थे, अनेक स्टन्ट गर्थे, हास्य कलाकार थिए, लोकप्रिय थिए। हाम्रो सबै दुःख जेलेन्स्कीले हरण गर्ने रहेछ भन्ने भ्रम युक्रेनी जनतालाई पर्यो । युक्रेनको भाग्य र भविष्य जेलेन्स्कीले बनाउने रहेछन् भन्ने भ्रम पर्यो । जेलेन्स्कीले चुनाव जिते। त्यसपछि के भयो भन्ने तपाई हामी सबैलाई थाहा छ। जेलेन्स्कीले युक्रेनलाई युद्धमा होमे। युक्रेनको विजोग छ। जेलेन्स्कीको कार्यकाल सकिइसकेको छ तर चुनाव गराउँदैनन्। युक्रेनलाई युद्धको आगोमा होमेर उनी निष्कंटक राष्टपति पदमा बसिरहेका छन्। युक्रेनी जनताले जेलेन्स्कीलाई लुसिफर भन्छन्। आजकाल नेपालमा पनि लुसिफर शब्द चलेको छ।

अब म नेपालको मात्र कुरा गर्छु। नेपालमा हठात राजनीतिक परिवर्तन भयो। यो परिवर्तन प्राकृतिक थिएन। अहिले अन्धकारको अवस्था छ। यो अन्धकारको अवस्थामा नयाँ-नयाँ पात्रहरु समाजका अगाडि ल्याइँदैछ। विगतमा कहिले नाम नसुनेका पात्रहरु भाइरल भएर ठूला-ठूला कुरा गर्दै हाम्रा सामु आइरहेका छन्। कसको कुरा पत्याउने, कसको नपत्याउने भनेर जनता रनभुल्लमा छन्। मुख्य कुरा, देश अब कता जान्छ भन्ने अन्यौल छ। अन्यौल र आतंकका बीच नेपाली जनताले दिन बिताइरहेका छन्।

सुशासन भएन भन्दै जेनजी पुस्ताले आन्दोलन गरेको थियो, आन्दोलनको आडमा नेपाली रोब्सपियरहरु आतंकको राज्य चलाउन खोज्दैछन्।

अहिले अन्यौल र आशंका बढेको बढ्यै छ। जेनजी आन्दोलनले नयाँ परिस्थिति सिर्जना गर्यो। के प्रष्ट भइसकेको छ भने जेनजी पुस्ताको पवित्र भावनामाथि खेलवाड गरेर देशमा षडयन्त्रमूलक ढंगले राजनीतिक परिवर्तन गरियो। पाँच दशक अघि कवि भूपी शेरचनले यो हल्लै हल्लाको देश भनेका थिए, अहिले पनि नेपाल हल्लै हल्लाको देश हो। अनेक हल्ला, अफवाह र भ्रम फैलाएर समाजलाई उत्तेजित बनाइयो, युवा पुस्तालाई दिग्भ्रमित बनाइयो। यसैलाई आधार बनाएर षडयन्त्र गरियो। अहिले पनि षडयन्त्र जारी छ, नेपाललाई अँध्यारो बाटोमा लैजाने प्रयास भइरहेको छ।

यस्तो बेला सबै नागरिक, राजनीतिक दल, दलका भ्रातृ संगठनहरु एकढिका हुनुपर्छ । अब सबै सक्रिय हुनुपर्छ। यो साता नेकपा एमाले र नेपाली कांग्रेस केन्द्रीय समिति वैठक बस्दैछ। यो बैठकले देशलाई बाटो देखाउनुपर्छ। देशलाई बाटो देखाउने मामिलामा जेनजी पुस्ता अगाडि सर्नुपर्छ। यस्तो काम सुरु भइसकेको पनि छ। हालै नेकपा एमाले सम्वद्ध अखिलले जेनजी आन्दोलनको आडमा मच्चाइएको आगजनी र तोडफोडको विरुद्धमा प्रहरीमा जाहेरी दिन गएको छ। अखिल भनेको जेनजीकै संगठन हो। जेनजी अखिलले अब समस्त जेनजीहरुको अगुवाई गर्नुपर्छ । त्यसैगरी अन्य भ्रातृ संगठनहरु पनि अगाडि आउनुपर्छ।

हालैको जेनजीको आन्दोलनको माग के थियो ? यसमा प्रष्ट हुनुपर्छ। जेनजी आन्दोलनको माग भ्रष्टाचार नियन्त्रण थियो। भ्रष्टाचार नियन्त्रण नेकपा एमाले र यसको जेनजी संगठन अखिलको पनि माग हो। एमालेका अन्य भ्रातृ संगठनहरु पनि भ्रष्टाचार नियन्त्रणको पक्षमा छन्। तसर्थ, जेनजी आन्दोलनको स्वामित्व नेकपा एमाले र यसका भ्रातृ संगठनहरुले लिनुपर्छ। हुनत जेनजी आन्दोलनको माग यो थियो र उ थियो भन्दै अहिले विभिन्न एनजीओ आइएनजीओले परिचालित गरेका समूहरुले विभिन्न माग अगाडि सारिरहेका छन्। उनीहरुले त्यस्तो माग अगाडि सार्नु भनेको धमिलो पानीमा माछा मार्ने प्रयास मात्र हो । सहि माग, सहि विचार र सहि मुद्दा आजको आवश्यकता हो । विभिन्न एजेण्डाको एम्बुसमा नेपाल र नेपाली जनतालाई पार्न खोजिँदैछ । यसलाई चिर्दै सहि माग र सहि विचार स्थापित गर्ने काममा अब दलका भ्रातृ संगठनहरु पछाडि पर्न हुँदैन।

अब लाइक कमेन्ट र शेयरका लागि उत्तेजना फैलाउनेहरुबाट सबैले जोगिन जरुरी छ । उग्र कुरा गर्ने, भाइरल हुने पात्रहरुले जनतालाई दिग्भ्रमित गरे । अब लाइक कमेन्ट, शेयर र फलोअरको खेतिभन्दा नेपाली समाज माथि उठ्नुपर्छ । अब नेपाली समाज बकुल्ला जस्तो बन्नुपर्छ । जेनजी आन्दोलनमा लागेका इमानदार भाइबहिनीहरुले अब बकुल्ला बन्नुपर्छ । दूध र पानी मिसाइएको छ भने बकुल्लाले दूध मात्र पिउँछ, पानी पिउँदैन भन्ने गरिन्छ। बकुल्लाले दूध र पानी छुट्याएर दूध मात्र पिउँछ भन्ने धेरैवटा लोककथा छ । हामीले पनि जेनजी आन्दोलन र आन्दोलनको दुरुपयोग गर्ने स्वदेशी विदेशी तत्वलाई बकुल्लाले झैं छुट्याउन सक्नुपर्छ । जेनजी आन्दोलनपछिको परिस्थितिमा को इमानदार हो र को राब्सपियर हो छुट्याउनुपर्छ । को हिटलर हो र को वास्तविक देशभक्त हो छुट्याउन सक्नुपर्छ । को जेलन्स्की हो र को देशको हितको पक्षमा छ भन्ने छुट्याउनुपर्छ । अन्यौल अस्थिरता र संकटको यो घडीमा उत्तेजक कुराका पछाडि नलागौं, देशको दीर्घकालीन हित हुने विचारलाई समर्थन गरौं ।