अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङमा बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी दर्ता

दाङमा बालेन शाह र सुदन गुरुङविरुद्ध जाहेरी दर्ता


दाङ-एमालेनिकट अनेरास्ववियु दाङले जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र अराजकतामूलक गतिविधि गर्न उस्काएको आरोपमा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह र हामी नेपालीका संस्थापक सुदन गुरुङविरुद्ध जिल्ला प्रशासन कार्यालय दाङमा जाहेरी दर्ता गरेको छ।

अनेरास्ववियुको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्ला अध्यक्ष प्रदिप वस्नेतको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा जाहेरी दर्ता गर्दै आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने र भीडलाई उक्साउने कार्य भएको हुँदा तत्काल कारबाहिको प्रकृया अघि बढाउनका लागि जाहेरी दर्ता गरिएको हो।

जाहेरीमा उक्त कार्यले मुलुकी फौजदारी संहिता २०७४ को दफा २८५ (२) को उपदफा क मा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउने, भीड उक्साउने, हिंसात्मक गतिविधि गर्ने र सार्वजनिक शान्ति भङ्ग गर्ने कार्य अपराध मानिने कुरा उल्लेख गर्दै छिटो भन्दा छिटो कारबाहिको दायरामा ल्याउन उल्लेख गरिएको छ।

टोलीले प्रशासन समक्ष भिडियो, फोटो र अन्य प्रमाणहरू समेत बुझाएको छ। जाहेरीमा भनिएको छ, “आन्दोलनका नाममा गरिएका यी कार्यहरू कानून र संविधानविपरीत छन्, जसले शासनको मर्यादा भङ्ग गरेको छ। त्यसैले कानुनी कारबाही हुनुपर्छ।” केन्द्रिय कार्यक्रम अन्तरगत अनेरास्ववियुले देशभरका जिल्ला प्रहरी कार्यालयहरुमा पनि जाहेरी दर्ता गर्ने जनाएको छ।