काठमाडौँ- २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयाेगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्धको जाहेरी कार्य क्षेत्र भित्र नपर्ने बताएको छ।
आयोगको आज बसेको बैठकले कुनै पनि अपराधको जाहेरी लिएर अनुसन्धान अघि बढाउने कार्य आयोगको नभएर प्रहरीकै भएको निष्कर्ष निकालेको हो।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओली र लेखकविरुद्धका जाहेरीमा अनुसन्धानका लागि प्रहरीमै पठाउने निर्णय पनि गरेको छ।
काठमाडौं प्रहरी परिसरमा परेका ती जाहेरी आयोगको कार्यक्षेत्र भन्दै प्रहरीले दर्ता गर्न मानेको थिएन । जाहेरी स्वीकार गरी आयोगमा पठाइएको थियो । तर, आयोगले फेरि प्रहरीमा फिर्ता गरिदिएको छ ।
‘नेपाल सरकारले यस आयोगको अधिकार क्षेत्र र जिम्मेवारीहरूका सम्बन्धमा भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुका कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझाव सहितको प्रतिवेदन पेस गर्ने, भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेश यस आयोगले पाएको छ,’जारी विज्ञप्तिमा भनिएको छ ।
फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसूरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य आयोगको कार्यक्षेत्रभित्र नपरेको समेत जारी विज्ञप्तिमा प्रस्ट पारिएको छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न-गराउन नेपाल कानूनले अख्तियारी प्रदान गरेको विदितै छ । फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२।०६।२१ को प्रेस विज्ञप्तीको प्रतिलिपि साथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने ।’
पूरा विज्ञप्ति पढ्नुहोस्:
यस आयोगको २०८२ । ०६ । २३ ।५ को बैठकले गरेको निम्न निर्णय जानकारीको लागि यो विज्ञप्ति जारी गरिएको छ ।
श्री जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको च.नं. ५८८० र मिति २०८२।०६।२१ को पत्र साथ निवेदक जाहेरवाला मृतक रसिक खतिवडाको बुबा पुरुषोत्तम खतिवडा समेत ४ जनाको जाहेरी पर्न आएको देखियो । पर्न आएको सो जाहेरी र निवेदन सम्बन्धमा विस्तृत छलफल गरियो।
सो जाहेरीको सम्बन्धमा मिति २०८२ साल भाद्र २३ र २४ गते काठमाडौं लगायत मुलुकका विभिन्न भागमा प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको छानबिन गर्ने, सो सँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण र कारवाहीको सम्बन्धमा आवश्यक राय दिने समेतको कार्यादेश तोकी नेपाल सरकार मन्त्रिपरिषद्बाट मिति २०८२।०६।०५ गते सम्मानित आयोग गठन भएको र उल्लिखित मितिमा प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको सम्बन्धमा सम्मानित आयोगको प्रतिवेदन प्राप्त भए पश्चात नेपाल सरकारले कानून वमोजिम गर्ने भनी तालुक गृह मन्त्रालयबाट मिति २०८२।०६।०९ गतेको प्रेस विज्ञप्तिबाट निर्देशन भई आएकोमा उल्लिखित मितिमा प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको विषयलाई लिई पुरुषोत्तम खतिवडा समेतको मानवता विरुद्ध तथा राज्य विरुद्दको कसूरमा जाहेरी दरखास्त यस परिसरमा प्राप्त हुन आएकोले उक्त विषय सम्मानित आयोगको कार्यक्षेत्र भित्र पर्ने देखिएकोले आवश्यक छानविन अनुसन्धानको लागि सक्कलै जाहेरी दरखास्त यसै पत्रसाथ पठाइएको भनी सक्कल जाहेरी निवेदन नै यस आयोगमा प्राप्त हुन आयो ।
नेपाल सरकारले यस आयोगको अधिकार क्षेत्र र जिम्मेवारीहरुका सम्बन्धमा भदौ २३ र २४ गते प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गर्ने, घटना घट्नुका कारणका सम्बन्धमा यथार्थ जाँचबुझ गरी सो को यकिन राय सुझाव सहितको प्रतिवेदन पेश गर्ने, भौतिक एवं मानवीय क्षतिसंग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारवाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेश यस आयोगले पाएको छ।
फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसूरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र परेको छैन । फौजदारी कसूरमा संलग्न जो कोहीलाइ नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न गराउन नेपाल कानूनले अख्तियारी प्रदान गरेको विदितै छ। फौजदारी वारदातमा अनुसन्धान तहकिकातको कार्य गर्न गराउन यस आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोराको आयोगको मिति २०८२।०६।२१ को प्रेस विज्ञप्तिको प्रतिलिपि साथ प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइदिने।








प्रतिक्रिया